इजराइलले हमाससँगको युद्धविराम सम्बन्धी प्रस्ताव अस्विकार
इजराइलले हमाससँगको युद्धविराम सम्बन्धी प्रस्ताव अस्विकार गरिदिएको छ । इजराइलले अर्को चरणको वार्ताका एक प्रतिनिधिमन्डल इजिप्टको काहिरा पठाउने तयारी गरेको छ ।
इजराइलले हमासले सहमति जनाएको विषयमा आफू असहमत रहेको भन्दै नयाँ वार्ताका लागि प्रतिनिधिमन्डल काहिरा पठाउने बताएको हो । हमासले प्रस्तुत गरेको प्रस्तावमा इजिप्ट र कतारले मध्यस्थता गरिरहेको छ । तर, उक्त प्रस्तावमा के कस्ता विषयहरू समावेश गरिएका छन् भन्नेबारे कुनै जानकारी दिइएको छैन । जानकारहरूका अनुसार उक्त प्रस्तावमा इजराइली बन्धकहरूलाई रिहा गर्नुको साटो इजराइली जेलमा बन्द रहेका प्यालेस्टिनी नागरिकलाई रिहा गर्ने विषय हुन सक्छ।संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले इजराइल सरकार र हमासलाई एउटै सम्झौतामा सहमत हुनका लागि अपील गरेका छन् ।
यसैबीच, इजराइली सेनाले दक्षिणी गाजास्थित रफाहमाथि आक्रमण सुरु गरेको छ । आइतवार त्यस क्षेत्रमा शरणार्थी भएर बसिरहेका प्यालेस्टिनीलाई खान युनिस र अन्यत्र जान भनेको इजराइलले सोमवारबाट रफाहमा आक्रमण सुरु गरेको हो इजराइली आक्रमण हुने भएपछि १ लाखभन्दा बढी मानिसले रफाह छाडिसकेका छन्। गाजामा युद्ध सुरु भएपछि रफाहमा करिब १० लाख प्यालेस्टिनी बस्दै आएका छन् ।