माता तीर्थ औँशीको महत्व
उदय मैनाली – आमा शब्द नै काफी छ । आँफैमा पुर्ण छ । कुनै परिभाषाको खाँचो छैन । पूर्विय संस्कृति मा मात्र होइन, संसारको जुनसुकै संस्कृतिमा पनि आमाको सम्मान र पुजा गर्ने परम्परा कायम नै छ । आमाको मुख हेर्ने दिनका रुपमा वैशाख कृष्ण औँशीका दिन मनाइने यस पर्वले जन्मदिने तथा कर्मदिने आमाहरु प्रति श्रद्धा, भक्ति र सम्मान प्रकट गर्न सिकाउँछ । आमाहरुलाई मिठोमसिनो खानेकुरा, नयाँ र राम्रा लत्ता कपडा लगायतका उपहार दिएर आमाको आशिर्वाद थाप्ने चलन रहिआएको छ ।
आमा नभएकाहरुले पनि यस दिन नदि तलाउमा गएर दिवंगत आमाहरुको सम्झनामा दान दक्षिणा र पुजाआजा गरि मनाउने चलन छ । पूर्वीय हिन्दृ शास्त्रहरुमा आमाहरुलाई पण्डित, आचार्य र पिताभन्दा ठुलो मानिएकाले पनि यस दिनमा आमाको श्रद्धा, सम्मान गरेमा मातृ ऋण मोक्ष हुन्छ भन्ने जन विश्वास पनि रहँदै आएको छ । यस दिन नै थानकोट नजिकै मातातिर्थमा मेला लाग्ने गर्दछ । आमा नहुने मानिसहरु गएर स्नान गरि पुण्यादि कर्म गर्ने गर्दछन् ।
लोकोक्ति अुनसार एकजना गोठालोले रोटीको टुक्रा चौरमा फ्याँक्दा उक्त रोटी चौरबाट हराएको र निज गोठालोको आमा पनि नभएको र उक्त दिन वैशाख कृृष्ण औँशी परेको हुँदा दिवंगत भएकी आमाले उक्त रोटी खान आएको भन्ने विश्वासका कारण त्यस क्षेत्रलाई मातातिर्थ कुण्ड नामाकरण गरी हरेक वर्ष मेला तथा पुजाअर्चना गर्ने गरेको भनाइ पाइन्छ ।अर्को किंवदन्ती अनुसार भगवान् विष्णुको सातौँ अवतारका रूपमा मर्यादा पुरुषोत्तम श्रीराम वनवासका क्रममा घुम्दै यो ठाउँमा आइपुग्नुभयो। उहाँलाई अपरिचित र नौलो देखेर स्थानीय बासिन्दाहरूले आक्रमण गरे। फलस्वरूप श्रीराम र उनीहरू बीचमा घमासान युद्ध भयो। युद्धले गर्दा दुवै पक्ष आकुल व्याकुल थिए। त्यही बेला माता सीताजीलाई प्यास लाग्यो। पानी खोज्दै जाँदा कतै पानी नभेटिएकाले भगवान् श्रीराम गङ्गामाताको स्तुति गर्न थाल्नुभयो। ुमाता गङ्गासमो तीर्थ पिता पुस्कर मे वचः भन्दै तीनपटक मन्त्रोच्चारण गरी जमीनमा वाण प्रहार गरेपछि वाण लागेको ठाउँमा पानीको कुण्ड बन्यो। त्यहाँ माता सीताजीले सारा ब्रह्माण्डको साक्षात् दर्शन पाउनुभयो। ब्रह्माण्डको दर्शन पाउँदा उहाँको स्वरूप कुण्डमा रहेको ढुंगाको मूर्ति कोरिन पुग्यो।
महर्षि वाल्मिकी रचित महाकाव्य रामायणमा त्यसका मुख्य पात्र रामद्धारा उच्चारण गरिएको यो श्लोक जननी जन्मभूमिश्च स्वर्गादपि गरियसीले भन्छ स् आफूलाई जन्म दिने आमा र आफू जन्मिएको भूमि बराबर स्वर्ग पनि होइन । आमाको महत्व र स्थान दर्साउन यो श्लोक नै पर्याप्त छ । त्यसैले हाम्रो समाजमा सबै भन्दा पुजनीय भनेकै आमा हुन् । आमालाई पुज्ने वा इश्वरिय आसन दिने संस्कार नेपाली वा हिन्दूहरूमा मात्र नभै संसार भरिका सबै जाति, समुदाय, सम्प्रदाय एवं धर्ममा समान रूपले व्याप्त छ ।आमाले नौ महिनासम्म गर्भमा धारण गरेर सन्तान जन्माएकी हुन्छिन् । आमाविना सृष्टिको कल्पनासम्म पनि गर्न सकिँदैन । आफूले खाएको अन्न, जल, वायु एवं संस्कारजन्य छाप शिशुमा दिएर आमाले जानी नजानी सन्तानको सृष्टि गरेकी हुन्छिन् । जन्मपछि पनि शिशुको हेरचाह गरेर पूर्ण मनुष्य निर्माण गर्ने आमाभन्दा पूजनीय संसारमा कोही हुँदैनन् तसर्थ आमालाई महान् मानेर हिन्दू संस्कृतिमा भनिएको छ मातृदेवो भवः । आमाको कुरा गर्दा एउटा प्रख्यात हिन्दी भनाइ छुटाउन मिल्दैन नारी निन्दा मत करो नारी नर की खान, नारी से पैदा हुए तुलसी सुर खुमान । अर्थात् नारी जातिको निन्दा कहिल्यै नगर्नू, उनीहरूको अवहेलना नगर्नू किनभने नारी भनेका पुरुषका स्रोत हुन् । तुलसीदास, सुरदासजस्ता विद्वानहरू पनि नारीकै कोखबाट जन्मिएका हुन् ।
आमा धरती हुन् किनभने उनले धर्ती झैं सहनशील भएर बालबालिकाको पालनपोषण एवं सुरक्षा गरेकी हुन्छिन् । आमाले जसरी सन्तानप्रति कुनै कारणविना नै स्नेह प्रदान गर्ने व्यक्ति अरू कोही हुँदैनन् । त्यसैले आमाप्रति सम्मान प्रदान गर्नु सन्तानको पहिलो कर्तव्य हो । यही कर्तव्य पूरा गर्न नेपाली समाजमा हरेक वर्ष मातृऔंसीका दिन आमाको मुख हेर्ने चलन छ ।