विद्युत् उत्पादन कम्पनीले अघि बढायो आठ खर्ब ५३ अर्ब रुपैयाँ लगानीको आयोजना

जेठ ७, काठमाण्डौ । सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनी (भीयूसीएल) ले झन्डै आठ खर्ब ५३ अर्ब ६२ करोड रुपैयाँ लगानीमा चार हजार एक सय १३ मेगावाट क्षमताका ठूला आयोजनाको काम अघि बढाएको छ ।

देशको ऊर्जा क्षेत्रको समग्र विकासका लागि सरकारले गरिरहेको योजनाबद्ध प्रयासलाई थप सार्थक बनाउने लक्ष्यका साथ कम्पनीले मझौला र ठूला क्षमताका आयोजना निर्माणका लागि आवश्यक प्रक्रियालाई अन्तिम चरणमा पुर्‍याएको छ ।

कम्पनीले अर्धजलाशययुक्त प्रकृतिको चार सय ८० मेगावाट क्षमताको फुकोट कर्णाली भारतीय कम्पनी एनएचपीसीसँग मिलेर अगाडि बढाउन लागेको छ । यो आयोजना अगाडि बढाउनेसम्बन्धी द्विपक्षीय सम्झौता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको २०७९ जेठमा भएको भारत भ्रमणका क्रममा भएको हो ।

यसैगरी कम्पनीले चार सय ५४ मेगावाट क्षमताको किमाथाङ्का अरुण, एक हजार नौ सय दुई मेगावाट क्षमताको मुगु कर्णालीको विस्तृत अध्ययनको कामलाई अगाडि बढाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत बखतबहादुर शाहीकाअनुसार छिटै ती आयोजनाको आवश्यक अध्ययन प्रक्रिया पूरा हुनेछ ।

कम्पनीले ४० मेगावाट क्षमताको सौर्य परियोजनासमेत अगाडि बढाएको छ । ऊर्जा मिश्रणको अवधारणामा समेत काम गर्ने उद्देश्यका साथ सौर्य परियोजनाको काम कम्पनीले शुरु गरेको शाहीको भनाइ छ । सरकारले नेपालको पानी जनताको लगानी अवधारणामा अगाडि बढाएको कम्पनी हो विद्युत् उत्पादन कम्पनी ।

यही कम्पनीको सहायक कम्पनीको रूपमा रहेको जगदुल्ला हाइड्रोपावर कम्पनीले गएको बुधवार मात्रै एक सय छ मेगावाट क्षमताको जगदुल्ला आयोजनाको वित्तीय व्यवस्थापन गरेको छ । यो आयोजना आउँदो आर्थिक वर्षको शुरुदेखि नै निर्माणमा जाने तयारी गरिएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *