अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा पर्ने विज्ञ समूहको निष्कर्ष

जेठ १२, काठमाण्डौ ।  नेपाल कुखुरा व्यवसायी मञ्चले बनाएको विज्ञ समूहले अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा हुने निष्कर्ष निकालेको छ । अहिले किसानले औषतमा प्रतिगोटा १५ रुपैयाँ ३३ पैसा पाउने गरेका छन् ।

यो किसानले पाएको अहिलेसम्मकै उच्च मूल्य हो । डेढ वर्षअघि किसानले अण्डा प्रतिगोटा आठ रुपैयाँमा बिक्री गर्न बाध्य थिए । कुखुरापालक किसानले अण्डाको लागत मूल्य नपाएको गुनासो बढेपछि अण्डाको वैज्ञानिक लागत मूल्य खोज्न मञ्चले विज्ञ समूह बनाएको हो ।

पोल्ट्री विज्ञ डा। तिलचन्द्र भट्टराई, कृषि तथा वन विज्ञान विश्व विद्यालयका सहप्राध्यापकहरु डा। रेवन्त भट्टराई, डा। सुविर सिंह, उपप्राध्यापक डा। अनन्त दाहाल र डा। विष्णु पोखरेल समूहले अण्डाको वैज्ञानिक लागत मूल्य निकालेको हो । कम मूल्यमा अण्डा बिक्री गर्नु परेपछि धेरैजसो किसान विस्थापित हुन थालेपछि लागत मूल्यको खोजी गरिएको मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले जानकारी दिनुभयो ।

मञ्चले लागत मूल्यका बारेमा स्थानीयस्तरमा सरकारी र निजी क्षेत्रसँग छलफल गरेर समर्थन मूल्य निर्धारणका लागि सरकारलाई अनुरोध गर्ने निर्णय गरेको लामिछानेले जानकारी दिनुभयो । फार्म निर्माण, चल्ला खरिद, दानाको खपत, बैंक ब्याज, औषधि, मजदुरलगायतको खर्च समेटेर लागत मूल्य तय गरिएको हो ।

नेपालमा धेरै उत्पादन हुँदा दैनिक ६० लाख वटासम्म अण्डा उत्पादन भएको अनुमान छ । अहिले दैनिक २८ लाख मात्रै अण्डा उत्पादन हुँदै आएको मञ्चले जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *