सहभागितामुलक बजेट तर्जुमाका लागि राष्ट्रिय युवा संघ झापाको अभियान घोषणा

१८ बैशाख, बिर्तामोड ।  राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी झापाले सहभागितामुलक बजेट तर्जुमाका लागि सचेतना तथा खवरदारी अभियान –२०८१ को घोषणा गरेको छ । शुक्रवार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय युवा संघले असार २५ गतेसम्म अभियान सञ्चालन गर्ने घोषणा गरेको हो ।

राष्ट्रिय युवा संघ झापाका अध्यक्ष फुर्वा लामाले अभियानबारे जानकारी दिदैं बजेट नीति तथा कार्यक्रम पारित नहुञ्जेल अभियान सञ्चालन गरिने जानकारी दिनुभएको हो । ‘युवाहरुको अगुवाईमा स्थानीय लोकतन्त्रलाई बलियो बनाई आगामी निर्वाचनमा नेकपा एमालेलाई पहिलो शक्ति बनाउने’ अभियानको लक्ष्य रहेको अध्यक्ष लामाको भनाई छ । उहाँका अनुसार अभियानको नारा ‘विकेन्द्रीकरणभित्रको केन्द्रीकरण तोडौंः संमृद्धिका लागि विधिको शासन रोजौं’ उल्लेख गरिएको छ ।

स्थानीय तहहरुले बजेट, नीति तथा कार्यक्रम निर्माण प्रक्रिया विधि अनुसार नगरिरहेको आरोप लगाउदै राष्ट्रिय युवा संघले विधि अनुसार काम गर्न खवरदारीको लागि अभियान घोषणा गरिएको लामाको भनाई छ । उनले स्थानीय तहहरुलाई बजेट, नीति तथा कार्यक्रम निर्माणमा युवाहरुको सहभागिता र सहयोग दुवै रहने बताउनुभयो ।

राष्ट्रिय युवा संघका स्थायी कमिटी सदस्य सागर पोर्तेलका अनुसार स्थानीय तहको नीति, कार्यक्रम तथा बजेट तर्जुमा प्रकृयाको बारेमा सचेतना फैलाउदैं बजेट तर्जुमाका प्रत्येक चरणहरुको कार्यान्वयन गर्नका लागि स्थानीय तहहरुलाई खवरदारी गर्ने, सहभागितामुलक विधिबाट नीति, कार्यकम र बजेट तर्जुमा गर्न स्थानीय तहहरुलाई सचेत गराउने, स्थानीय तहको सर्वाङ्गिण विकासको बारेमा छलफल संचालन गर्ने, युवाहरुको नेतृत्व विकास गर्ने, युवामैत्री बजेट तर्जुमाका लागि स्थानीय तहमा दबाब सृजना गर्ने, स्थानीय लोकतन्त्रलाई बलियो बनाउने, विधिको शासनको परिपालना गर्ने/गराउने प्रणालीको विकास गर्ने अभियानको उद्देश्य रहेको छ ।

नेता पोर्तेलले स्थानीय सरकारको बजेट, नीति तथा कार्यक्रम निर्माण स्थानीय स्तरमा सल्लाह सूझाव संकलन गरेर गर्न पालिकाहरुलाई आग्रह गर्नुभएको छ । गाउँमा बनाउनुपर्ने कार्यक्रम तारे होटलमा बसेर बनाउदा सबै वर्ग, क्षेत्र उपेक्षामा परेको उहाँको आरोप छ ।

अभियानका क्रममा बजेट तर्जुमा सम्बन्धी तालिम सञ्चालन गर्ने, स्थानीय तहको ध्यानाकर्षण गराउने, पालिका स्तरीय अभिमुखिकरण गोष्ठी आयोजना गरी कार्ययोजना तयारी, योजना तर्जुमा लागि वडा–वडामा ध्यानाकर्षण गराउने, स्थानीय पार्टी नेतृत्वसँग समन्वय गरी पालिकाको विकासका लागि नीति तथा कार्यक्रमको मस्यौदा तयार गर्ने, मस्यौदामाथि सरोकारवालासँग छलफल गरी पालिकामा पेश गर्ने, नीति तथा कार्यक्रम बमोजिम योजना तथा कार्यक्रमहरु तयारी गर्ने र पालिका, वडा कमिटीमा मार्फत योजना तर्जुमा गोष्ठीमा पेश गर्ने, माग भएका आयोजना तथा कार्यक्रमहरुको प्राथमिकिकरण गरी बजेट तर्जुमा गरे, नगरेको सूचना संकलन गरी खवरदारी गर्ने बताइएको छ ।

पत्रकार सम्मेलनमा नेकपा एमाले झापाका उपाध्यक्ष शिव ढुङगेल र राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य एवम् झापा इञ्चार्ज राज आङदेम्वेले धारणा राख्नुभएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *