विएण्डसी अस्पतालमा मिर्गौलाको निःशुल्क डाइलासिस सेवा सुरु

२१ जेठ, झापा ।  झापाका छ वटा अस्पतालबाट मिर्गौला रोगीका बिरामीले निःशुल्क हेमोडाइलासिस सेवा पाउन थालेका छन् । आइतबारदेखि बिर्तामोडको बीएन्डसी टिचिङ हस्पिटलमा यो सेवा सुरु भएको छ ।

नेपाल सरकारद्वारा सञ्चालित विपन्न नागरिक उपचार कोष अन्तर्गत निःशुल्क हेमोडाइलासिस सेवा प्रदान गरिँदै आइएको छ । झापाका बीएन्डसी टिचिङ अस्पताल, ओमसाई पाथीभरा हस्प्टिल, प्रादेशिक अस्पताल, लाइफलाइन अस्पताल, मनमोहन सामुदायिक अस्पताल र पूर्णटुंग बिर्तासिटी अस्पतालमा यो सेवा सुरु गरिएको हो ।

बीएन्डसी टिचिङ अस्पतालले आजदेखि पाँच वटा मेसिनमार्फत हेमोडाइलासिस सेवा सुरु गरेको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताउनुभयो । उहाँका अनुसार अस्पतालमा ‘पेइङ डाइलासिस’ सेवा पहिल्यैदेखि सञ्चालनमा थियो । आगामी एक महिनाभित्र २० वटा मेसिन थपेर सेवा विस्तार गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

बीएन्डसी टिचिङ अस्पतालका फिजिसियन डा. गोपाल मिश्रले नेपालमा बर्षेनि मिर्गौलाका तीन हजारभन्दा बढी बिरामी बढिरहेको बताउनुभयो। दुखाई कम गर्न प्रयोग हुने औषधिको अत्यधिक सेवनलगायतका कारणले पनि मिर्गौलामा समस्या बढिरहेको उहाँको भनाइ छ ।

सर्जन डा. मुक्ति देवकोटाले बीएन्डसी अस्पतालमा डाइलासिस गराउने बिरामीको सजिलोका लागि फिस्टुला बनाउने शल्यक्रिया समेतको सेवा उपलब्ध भएको जानकारी दिनुभयो। झापामा सबैभन्दा बढी १९ वटा मेसिन राखेर ओमसाई पाथीभरा अस्पतालले डाइलासिस सेवा दिइरहेको छ । अस्पतालका व्यवस्थापक मनोज दाहालका अनुसार ओमसाईले भद्रपुरबाहेक लहान र इटहरीबाट समेत मिर्गौला रोगीका लागि हेमोडाइलासिस सेवा उपलब्ध गराइरहेको छ ।

भद्रपुरको प्रादेशिक अस्पतलामा १३ वटा, बिर्तासिटीमा पाँच वटा र मनमोहन अस्पतालमा पाँच वटा मेसिन राखेर बिरामीहरूलाई डाइलासिस सेवा दिइने गरेको छ ।

अस्पतालहरूमा हेमोडाइलासिस सेवा विस्तार भएसँगै पूर्वी नेपालको झापा, इलाम, पाँचथर र ताप्लेजुङका मिर्गौला रोगीहरूले हेमोडाइलासिसका लागि धरान र विराटनगर धाउनु पर्ने बाध्यता हटेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *