सिमलतालमा बस दुर्घटना : घुमाउनेबाट देवघाटसम्मकाे क्षेत्रमा खाेजी चल्दै
![](https://koshidarpan.com/wp-content/uploads/2024/07/IMG_20240722_183806.jpg)
७ साउन, काठमाण्डाै । चितवनको सिमलतालमा गएको पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुई वटा बस तथा यात्रुको आज ११ औँ दिन पनि खोजी भइरहेको छ । नेपाल र भारतका दक्ष गोताखोर र प्राविधिकसहितको संयुक्त टोलीले खोजी गरिरहेको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले विज्ञप्तिमार्फत सिमलतालबाट साढे तीन किलोमिटरको दूरीमा रहेको घुमाउनेबाट देवघाटसम्मको १६ किलोमिटर क्षेत्रमा खोजी गरिरहेको जानकारी दिनुभएको छ । भारतको राष्ट्रिय आपदा मोचन बलबाट आएका १२ जनाको प्राविधिक टोली पनि खोजी कार्यमा संलग्न रहेको छ ।
घटनामा परी हराइरहेका यात्रुमध्ये अहिलेसम्म २५ वटा शव फेला परेकामा १८ वटा शव सनाखत भएर परिवारको जिम्मा लगाइएको गृह मन्त्रालयले जनाएको छ । भेटिएका शवमध्ये दुईवटा भारतीय भूमिमा भेटिएका हुन् । सनाखत भएका शवमध्ये १३ वटा नेपाली नागरिकका छन् ।