‘निरोगी नेपाल’ अवधारणामा कार्यक्रम बनाउन प्रधानमन्त्रीको निर्देशन
२५ साउन, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपालको अवधारणाबाट स्वास्थ्य क्षेत्रका कार्यक्रम निर्माण र कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।
स्वास्थ्य क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय र आउँदो एक सय दिनभित्र गर्न सकिने ठोस कार्यक्रमका सन्दर्भमा निर्देशन दिँदै उहाँले शारीरिक र मानसिक स्वास्थ्यका क्षेत्रमा निरोधात्मक र उपचारात्मक विधिलाई प्राथमिकता दिने गरी कार्यक्रम बनाउन भन्नुभएको छ ।
प्रधानमन्त्रीले स्वास्थ्य क्षेत्रका जनशक्तिलाई आवश्यक सम्पूर्ण सेवा सुविधा उपलब्ध गराइ परिचालन गर्न पनि सुुझाव दिनुभएको छ । उहाँले स्वास्थ्य संस्थामा सञ्चालन हुने आकश्मिक सेवालाई प्रभावकारी बनाउन र डाक्टर तथा स्वास्थ्यकर्मीलाई थप जिम्मेवार बनाउनका लागि आवश्यक व्यवस्था गर्न निर्देशन दिनुभएको छ ।
स्वास्थ्य क्षेत्रका लागि अनावश्यक उपकरण तथा औषधि खरिद गर्ने र थन्क्याउने काम भइरहेको आफूलाई जानकारी प्राप्त भएको भन्दै प्रधानमन्त्रीले राज्यको स्रोत र साधनको दुरुपयोग अन्त्य गर्न निर्देशन दिनुभएको छ ।