साउनमा १ खर्ब ३६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो, महँगी घट्यो

१० असोज । चालू आर्थिक वर्षको पहिलो महिना साउनमा एक खर्ब ३६ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गएको वर्षको साउनमा भन्दा १८ प्रतिशतले बढेर रेमिट्यान्स एक खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको साउनमा रेमिट्यान्स झन्डै २३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स बढेर एक अर्ब दुई करोड डलर पुगेको छ ।

पहिलो महिना साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ३६ हजार नाै सय २८ जना रहेको छ । यो अघिल्लो वर्षको साउनको भन्दा तीन हजार जनाले कमी हो । यस्तै पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २२ हजार ६ सय ४७ जना रहेको छ, यो अघिल्लो वर्षको साउनमा भन्दा ६ हजार जनाले धेरै हो ।

यसैबीच साउन महिनामा मूल्यवृद्धि घटेको राष्ट्र बैंकको दाबी छ । साउनमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति अर्थात् मूल्यवृद्धि ४ दशमलव १० प्रतिशत रहेको छ । अघिल्लो वर्षको साउनमा यस्तो मूल्यवृद्धि ७ दशमलव ५२ प्रतिशत रहेको थियो ।

साउनमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ६ दशमलव १७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि २ दशमलव ९४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष साउनमा खाद्य र पेय पदार्थमा ८ दशमलव ९० प्रतिशत र गैर–खाद्य वस्तुको मूल्यमा ६ दशमलव ६२ प्रतिशतले वृद्धि भएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *