आज दशैँकाे दाेस्राे दिन ब्रह्मचारिणीकाे पूजाआराधना गरिँदै

१८ असोज । दशैँको दोस्रो दिन आज देवीमन्दिर तथा शक्तिपीठहरूमा नवदुर्गामध्येकी दोस्रो ब्रह्मचारिणीको पूजाआराधना गरिँदै छ । ब्रह्मचारिणीलाई ब्रह्म विद्या शक्तिकी माताको रूपमा पूजाअर्चना गर्ने चलन छ ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । ब्रह्मचारिणीदेवीको आराधनाले व्यक्तिलाई ब्रह्मअनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचार्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरूमा उल्लेख छ ।

हिजो घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटनास्थापना गर्दै यस वर्षको दशैँ शुरू भएको छ । दुर्गादेवीका तीन वटा रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूवर्क पूजाआराधना गरिन्छ ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवी भागवत र अन्य देवी स्तोत्र एवम् स्तुतिहरूको पाठ पारायण पनि गर्ने गरिन्छ । यस अवसरमा गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, नाला भगवती र पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवम् दर्शन गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *