देशभरि चिसो बढ्यो, केही ठाउँमा बदली र वर्षा
देशभरि चिसो बढ्न सुरु भएको छ । आज बिहान ५ बजेर ४५ मिनेटमा काठमाण्डौको न्यूनतम तापक्रम १५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ । आजभन्दा २० दिनअघि अर्थात् अक्टोबर १ तारिखमा काठमाण्डौको न्यूनतम तापक्रम २० दशमलव ४ डिग्री सेल्सियस थियो । २० दिनमै काठमाण्डौको तापक्रम ५ डिग्री सेल्सियसले घटेको हो । गएको चार /पाँच दिनदेखि काठमाण्डौको न्यूनतम तापक्रम १५ डिग्री सेल्सियसको आसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले बताउनुभयो । ‘पोस्ट मनसुनु ‘को अवस्था रहेकोले अहिले देशभर नै चिसो बढिरहेको उहाँले बताउनुभयो । पश्चिमी वायु र स्थानीय वायुको समेत प्रभावले केही ठाउँमा बदली र वर्षासमेत भएकोले चिसो झनै बढेको मौसमविद् लामिछानेको भनाइ छ । अब चिसो बढ्दै जाने भएकोले चिसोबाट जोगिने उपयाहरूको व्यवस्था गर्नुपर्ने उहाँको सुझाव छ । यसैबीच अहिले कोशी, मधेश, बाग्मती, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेकोले केही ठाउँमा बदली र वर्षा भइरहेको महाशाखाले जनाएको छ ।