रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइयो
४ कात्तिक । सहकारी ठगी मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धानका लागि रास्वपाका सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई अदालत उपस्थित गराइएको हो ।
अस्ति शुक्रवार काठमाण्डौको पार्टी कार्यालयबाट पक्राउ परेका उनलाई त्यसैदिन मध्यराति पोखरा लगिएको थियो । हिजो शनिवार सार्वजनिक बिदा परेका कारण आज अदालतमा उपस्थित गराइएको हो । सहकारी पीडित र रविका समर्थकले आज पोखरामा प्रदर्शन गरेका छन् । समर्थकले प्रशासनले लगाएको निषेधाज्ञा तोडेर प्रदर्शन गरेपछि केहीबेर प्रहरीसँग धकेलाधकेलसमेत भएको थियो ।
कास्कीमा दुई पक्षको प्रदर्शनलाई मध्यनजर गरी जिल्ला प्रशासनले निषेधित क्षेत्रको घोषणा गरेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बिहान पौने १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पोखराको सहिद चोक आसपास क्षेत्र र गैह्रापाटन आसपास क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्नुभएको हो ।
सहिद चोक आसपास क्षेत्रमा पूर्वतर्फ वाई चोक, पश्चिमतर्फ फिस्टेल चोक, उत्तरतर्फ मालपोत कार्यालय र दक्षिणतर्फ मुस्ताङ चोकसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । यस्तै गैह्रापाटन आसपासका क्षेत्रमा पालिखेचोकदेखि नविल माविसम्मको सडक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
यी क्षेत्रमा पाँच जनाभन्दा धेरै भेला भएमा कानुन अनुसार कारबाही हुने प्रशासनले निकालेको सूचनामा उल्लेख छ । कास्कीका प्रमुख जिल्ला अधिकारी पाण्डेले सबै पक्षलाई संयमता अपनाउन अपिलसमेत गर्नुभएको छ । सुरक्षा सतर्कता पनि बढाइएको छ ।