सरकारले सय दिनमा गरेको काममा कांग्रेसले असन्तुष्टि जनाउनुपर्ने कारण छैन : देउवा
९ कात्तिक । सत्ता साझेदार प्रमुख दल नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सय दिनको कामप्रति सन्तुष्ट रहेको बताउनुभएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनमा गरेको काममा कांग्रेसले असन्तुष्टि जनाउनुपर्ने कुनै कारण नरहेको उहाँको भनाइ छ ।
कांग्रेसका सभापति देउवाले सबै किसिमबाट वर्तमान सरकारले गति लिएको दाबी गर्नुभयो । विपद्का बेलाको उद्धार तथा त्यसपछिको राहत र व्यवस्थापनमा सरकारले कामै गरेन भनेर भ्रम फैल्याइएको उहाँको तर्क छ ।
सभापति देउवाले वर्तमान सरकार पूरा कार्यकाल अर्थात् एमाले–कांग्रेसको सरकार बनेको दिनदेखि दुई वर्ष प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गर्ने र बाँकी डेढ वर्ष आफूले नेतृत्व गर्ने बताउनुभयो ।
सभापति देउवाले अर्को दलसँग मिलेर सरकार बनाउँदा केही समस्या आउनु स्वाभाविक रहेको उल्लेख गर्नुभयाे ।