भृकुटीमण्डपमा तिहार ‘फ्लोरा एक्स्पो’ शुरू

काठमाण्डाै – ‘तिहारको महोत्सव, फूलको उत्सव’ भन्ने नाराका साथ पाँच दिने तिहार ‘फ्लोरा एक्स्पो’ २०८१ भृकुटीमण्डपमा शुरू भएको छ । नर्सरी व्यवसायी सङ्घ नेपालको आयोजनामा शुरू भएको मेलामा ६५ वटा व्यावसायिक कक्ष राखिएको छ । झन्डै ३५ हजार जना मानिसले अवलोकन गर्ने अनुमान गरिएको मेलामा ७० लाख रुपैयाँ बराबरको फूल एवम् नर्सरी सामानको बिक्री/वितरण हुने आयाेजकले जनाएकाे छ ।

मेलाको उद्घाटन गर्दै बाग्मती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले सामुदायिक वनभित्रका बाँझो जग्गा नर्सरीका लागि दिने गरी आउँदाे नीति तथा कार्यक्रममा समावेश गरिने प्रतिबद्धता जनाउनुभयो । पुष्प व्यवसाय प्रवर्द्धनका लागि बजेटको व्यवस्था गरिने समेत उहाँको भनाइ थियो ।

वनस्पति विभागका महानिर्देशक डा. सञ्जीवकुमार राईले प्लास्टिकजन्य फूलको आयातले स्वदेशी बजारमा समस्या आएको उल्लेख गर्दै सयपत्री, मखमली, गोदावरीजस्ता विदेशबाट आएका फूलभन्दा स्वदेशीलाई प्रवर्द्धन गरिनुपर्ने बताउनुभयो । गएकाे वर्ष आयातित सयपत्री फूलका कारण नेपाली फूल बिक्री नभएपछि विभागको प्राकृतिक अनुसन्धानशालाले फूड सप्लिमेन्ट र सौन्दर्य सामग्री निर्माण भएको उहाँले सुनाउनुभयो । यो अनुसन्धानबाट तीन वटा उद्योग पनि दर्ता भएको महानिर्देशक राईले सुनाउनुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका वस्तुगत उपाध्यक्ष मोहन कटुवालले नेपालमा ८० प्रतिशतभन्दा धेरै लघु तथा घरेलु उद्योग भए पनि सरकारले भने यिनको प्रवर्द्धनमा ध्यान नदिएकामा गुनासो गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवम् निर्यात प्रवर्दधन समितिका संयोजक नरेशलाल श्रेष्ठले कृषि, ऊर्जा र पर्यटन क्षेत्रमा सहुलियत कर्जाको व्यवस्था गरी देशमै रोजगारी प्रवर्द्धन गर्न सकिने बताउनुभयो ।

मेला संयोजक एवम् आयोजक समितिका अध्यक्ष रामजीप्रसाद तिमल्सिना, उपाध्यक्ष लक्ष्मी महर्जन, निर्णायक समितिका सदस्य रबिन्द्र थापालगायतले सयपत्री फूलको प्रवर्द्धनका लागि सरकारी नीति तथा कार्यक्रम र बजेटमा व्यवस्था भए पनि कार्यान्वयन हुन नसकेकाले कार्यान्वयनका लागि सरोकार भएका सरकारी र गैरसरकारी निकायबीच समन्वय हुनुपर्नेमा जोड दिनुभएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *