निषेधित क्षेत्रमा प्रदर्शन गर्न पुगेका रास्वपाका ११ जना पक्राउ
काठमाडौंको बालुवाटारमा प्रदर्शन गर्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।
रास्वपाले आज बालुवाटारमा विरोध प्रदर्शन गर्ने कार्यक्रम राखेको थियो। बालुवाटार क्षेत्र प्रदर्शन गर्न नपाइने निषेधित क्षेत्र हो।
उक्त क्षेत्रमा प्रदर्शन गर्न पुगेका रास्वपा सांसद अशोककुमार चौधरीसहित कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
काठमाडौं जिल्ला सभापति प्रदीप विष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन, खुसीराम कैनी, जयराम नेपाल, सुरेन्द्र अवाले, नवराज भण्डारी, सहिल प्रयास, उमेश लामा, नवराज मुडभरी, ध्रुव ढकाल र सवि खड्का प्रहरीको नियन्त्रणमा रहेको रास्वपाले जनाएको छ।
पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार राजनीतिक प्रतिशोध, अन्याय, व्यथिति र भ्रष्टाचारविरूद्ध बालुवाटारमा सुरू भएको विरोध प्रदर्शन गर्न पुगेका कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
‘शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रमलाई बिथोल्ने गरी प्रहरी प्रशासनले गरेको यो दमन र गिरफ्तारीविरुद्ध घोर भर्त्सना गर्दछौँ। शान्तिपूर्ण विरोधका कार्यक्रम गर्न पाउने संवैधानिक हक हनन लोकतान्त्रिक मूल्य मान्यताको चरम उल्लंघन हो। यसका विरुद्ध डटेर शान्तिपूर्ण प्रदर्शनमा एक्यबद्धता गर्न सम्पूर्ण देशप्रेमीहरुमा अपिल गर्दछौँ,’ उनले भने।
सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराध कसुरमा गत कात्तिक २ गते पक्राउ परेदेखि नै रास्वपा सडक प्रदर्शनमा छ।