साफ महिला च्याम्पियनशिपको फाइनल हेर्न टिकट बिक्री शुरू, प्रधानमन्त्री ओली पनि खेल हेर्न जानुहुने
१४ कात्तिक । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले साफ महिला च्याम्पियनशिप फुटबलको फाइनल खेलको टिकट बिक्री गरिरहेको छ ।
नेपाल र बङ्गलादेशबीच आज बेलुका हुने फाइनलका लागि बिहान ८ बजेदेखि जावलाखेल फुटबल मैदान, एन्फा कम्प्लेक्स र भद्रकालीको नेपाली सेनाको गेटअघिबाट टिकट बिक्री भइरहेको एन्फाले जनाएको छ ।
टिकट किन्नका लागि बिहानैदेखि तोकिएका ठाउँमा भिड लागेको छ । एक जनाले भीआईपीतर्फ अधिकतम दुई वटा र साधारणतर्फ पाँच वटा टिकट मात्रै किन्न पाउने छन् ।
यसअघि अनलाइनमार्फत बिक्री भएको टिकटको पैसा फिर्ता हुने एन्फाले जनाएको छ । सुरक्षाका कारण फाइनल खेलका लागि १० हजार वटा टिकट मात्रै बेच्ने एन्फाले जनाएको छ ।
साफ महिला च्याम्पियनशिपको फाइनल खेल आज बेलुका साढे ६ बजे त्रिपुरेश्वरको दशरथ रङ्गशालामा शुरू हुनेछ । खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि रङ्गशालामा जानुहुने उहाँको सचिवालयले जनाएको छ ।