रवि लामिछानेलाई थप १० दिन थुनामा राख्न अदालतको अनुमति

काठमाण्डाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १० दिन थुनामा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । प्रहरीले २५ दिन म्याद थपको आदेश मागे पनि न्यायाधीश चन्द्रकान्त पौडेलले १० दिन थुनामा राख्न अनुमति दिनुभएको हो ।

सहकारी ठगी र सङ्गठित अपराधको कसूरमा अनुसन्धानका लागि हिरासतमा रहेका सभापति रवि लामिछानेलाई प्रहरीले आज दोस्रो पटक म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।

कास्कीको सूर्यदर्शन सहकारीको रकम हिनामिनाको आरोपमा प्रहरीले यही कात्तिकको २ गते रवि लामिछानेलाई काठमाण्डौबाट पक्राउ गरेर पोखरा पुर्‍याएको हो ।

लामिछानेलाई सुप्रिम सहकारीको रकम हिनामिनाको पनि आरोप लागेकाले पोखराबाट अब बुटवल लैजाने तयारी रहेको छ ।

प्रहरी हिरासतमा रहेका सभापति लामिछानेको समर्थनमा आजै पोखरामा प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *