आजदेखि छठ पर्व विधिपूर्वक शुरु, बिरिङ खोलामा एक हजार ब्रतालुले पूजा गर्न सक्ने
मिथिलाञ्चलसहित विशेष गरी मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक शुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको झापा, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धूमधामका साथ शुरुभएको हो ।
झापाका नदीनालाहरुमा पनि छठ पर्वको तयारीका लागि पन्डाल, र घाट निर्माण शुरु गरिएको छ । झापाको मेची नदी, बिरिङ खोला, कनकाई माई, अधुवा, रतुवा खोला साथै स्थानीय साना तथा ठूला खोलाका किनार, स्थानीय तलाउमा समेत छठको तयारी गरिएको श्री छठ समाज सेवा समिति बिर्तामोडका उपाध्यक्ष मनोज रौनियारले जानकारी दिएका छन् । उपाध्यक्ष रौनियारका अनुसार बिरिङ खोलामा हुने छठ पूजाका लागि करव ३५० पडालको तयारी गरिएको छ जसमा एक हजार ब्रतालुले पूजा गर्न सक्नेछन् ।
छठ पर्व नदीनाला, विभिन्न पोखरी, तलाउ सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलासयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ ।
चार दिनसम्म मनाइने यसपर्वको पहिलो दिन आज व्रतीहरुले नहा खा अर्थात् नुहाएर खाने गर्दछ । आज व्रतालुले जीउ चोख्याउने काम गर्दछन् । त्यस्तै पर्वको दोस्रो दिन बुधबार खर्ना मनाइनेछ । खर्नाका दिन व्रतीले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कूल देवताको पूजा गर्नेछन् र राति अरवा अरबाईन (विनानुन हालेको) खानेकुरा खाने चलन छ ।