नेपालमा डेङ्गी सङ्क्रमण घट्दै
२१ कात्तिक । नेपालमा डेङ्गी सङ्क्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले जाडो बढेसँगै सङ्क्रमण घट्दै गएको बताउनुभयो ।
उहाँका अनुसार सन् २०२४ को ४२औं हप्तादेखि नेपालमा डेङ्गी सङ्क्रमण घट्न थालेको हो । नेपालमा अहिले डेङ्गी सङ्क्रमणको ४५औं हप्ता चलिरहेको छ । ४२औं हप्तामा दुई हजार पाँच सय ८२ जनामा सङ्क्रमण पुष्टि भएको थियो । ४३औं हप्तामा दुई हजार दुई सय चार, ४४औं हप्तामा एक हजार ७१ र ४५औं हप्ता चलिरहँदा ५५ जनामा मात्र सङ्क्रमण देखिएको प्रमुख दाहालले जानकारी दिनुभयो ।
नेपालमा अहिलेसम्म २९ हजार एक सय ५८ जनामा डेङ्गी सङ्क्रमण भएको र १२ जनाको ज्यान गएको शाखाको तथ्याङ्क छ । यस वर्ष हुम्लाबाहेक सबै जिल्लामा डेङ्गी सङ्क्रमण देखिएको छ । काठमाण्डौ उपत्यकामा ६ हजार ६ सय १२ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।
डेङ्गी सङ्क्रमण घटिरहेको भए पनि अझै केही समय सावधानी अपनाउन डा. दाहालले आग्रह गर्नुभएको छ ।