कारागारबाट दुई पटक भागेका प्रतिवादी छठ मनाउने क्रममा पक्राउ

काठमाडौं । सजाय भुक्तानको क्रममा रहँदा कारागारबाट दुई पटक भागेका विनायककुमार यादव छठ मनाउने क्रममा पक्राउ परेका छन् । सुनसरीको झुम्का र सिन्धुपाल्चोक कारागारबाट भागेका उनी गयराती नेपाल—भारत सीमाको कोशी गाउँपालिका—८ पथरचट्टान भन्ने स्थानबाट पक्राउ परेका हुन् ।

छठ मनाउन भारतको विहार हुँदै नेपाल आउँदै गरेको सूचनाको आधारमा सुनसरीको कोशी गाउँपालिका—८ बाट उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । फरार प्रतिवादी रहेका विनायकलाई पक्राउ गर्ने क्रममा प्रहरीले एक राउण्ड गोली समेत फायर गर्नुपरेको जनाएको छ ।

प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले पक्राउको क्रममा प्रतिवादी भाग्न खोजेकाले उनलाई नियन्त्रणमा लिन घुँडामुनी गोली फायर गर्नुपरेको बताउनु भयो । भाग्न खोज्ने व्यक्ति आत्तिएर लडेपनि उनलाई गोली भने नलागेको प्रहरी उपरीक्षक तिम्सिनाले बताउनु भयो ।

घटना सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरेको सुनसरी प्रहरीले पक्राउ परेकाको हकमा कानून बमोजिमको कार्वाहीको प्रकृया अघि बढाइएको जनाएको छ । सुनसरी प्रहरीले पक्राउ गरी सार्वजनिक गरिएका विनायककुमार यादव कर्तव्य ज्यान तथा हातहतियार खरखजाना मुद्दामा जिल्ला अदालत सुनसरीबाट अपराधी ठहर भएका थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *