अस्तव्यस्त भद्रपुर स्टेण्डमा दुर्घटनाको जोखिम

अस्मिता साँखी
२७ कार्तिक, बिर्तामोड । झापाको बिर्तामोडमा रहेको भद्रपुर बस स्टेण्ड अस्तव्यस्त बन्दै गएको छ । साँघुरो सडकमै सवारी साधनहरु जथाभावी रोकेर यात्रु चढाउने र ओराल्ने कारण भद्रपुर स्टेण्ड अस्तव्यस्त बन्दै गएको हो ।

बिर्तामोडबाट झापाका दक्षिणी भेग तर्फ जाने बसहरु रोक्ने स्थानमा सवारी तथा यात्रुको चापका कारण दुर्घटनाको जोखिम समेत बढेको छ । डबल लेनको सडकको एक लेनमा व्यस्त सडक नै ओगटेर सवारी साधन रोकिनुपर्ने बाध्यता छ । बस, म्याजिक, तिन पांग्रे अटो तथा ई रिक्सा जथाभावी रोकिने कारण पनि भद्रपुर स्टेण्ड अस्तव्यस्त बनेको हो । यो बाटो भएर यात्रा गर्ने पैदल यात्री, साईकल तथा मोटर साईकल चालक लगायत अन्य सवारी साधनलाई समेत भद्रपुर स्टेण्ड काट्नै मुस्किल हुने गरेको छ । भद्रपुर स्टेण्डमा पुगेपछि सवारी जाम जस्तै हुने गरेको एक यात्रुले बताए ।

साँघुरो सडकमै बसहरु पार्कि गरी पालो कुर्नुपर्ने भएकाले पनि यहाँको अवस्था अस्तव्यस्त बनेको हो । ट्राफिक नियमको पालना गराउन सडकमा हुनुपर्ने ट्राफिक प्रहरी पनि पूर्व पश्चिम राजमार्ग केन्द्रित हुँदा पूर्व तथा पश्चिम बस स्टेण्डमा मात्रै देखिने गरको छ । यहाँ ट्राफिक प्रहरीको पनि उपस्थिती देखिदैन । पश्चिमबाट बिर्तामोड हुँदै जिल्लाको दक्षिणीभेग भद्रपुर, कचनकवल, हल्दीबारी लगायतका स्थानमा जाने बस तथा म्याजिक भेनहरु यहीँबाट छुट्ने गरेका छन् ।

यस्तै यात्रु खोजीरहेका तीन पांग्रे सवारी पनि यहीँ जम्मा भएका हुन्छन् । साँघुरो सडकमा बस रोकेर यात्रु चढाउनु परेकाले यो स्थानमा दुर्घटनाको जोखिम पनि निकै रहेको सवारी चालकहरुको भनाई छ ।

सवारी साधन जथाभावी रोकेर राख्नाले पनि दुर्घटनाको जोखिम बढेको छ । केहीबेरका लागि सवारी साधन रोक्न मिल्ने पर्याप्त स्थान सहित यात्रु प्रतिक्षालय समेतको व्यवस्था गरी भद्रपुर बस स्टेण्डलाई व्यवस्थित बनाउनुपर्ने देखिएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *