बिर्तामोडमा सार्वजनिक शौचालयको समस्या
बिर्तामोड । भरत भाबुक प्रसाई, झापा हल्दीबारीका सुमन पौडेललाई काम विशेषले सातामा एक दुईपटक बिर्तामोड नआई हुँदैन तर पूर्वकै मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा सार्वजनिक शौचालय नहुँदाको दुःख सम्झदा उहाँलाई घरबाट बिर्तामोड सहर हिंड्नुअघि सधै औडाहा हुन्छ ।
उहाँ त केवल प्रतिनिधीपात्र हुनुहुन्छ । तीव्र गतिमा विस्तारित बिर्तामोड सहरमा दैनिक आवतजावत गर्ने हजारौं सर्वसाधारणले सुमनको जस्तै सास्ती दैनिक बेहोर्नु परे पनि यसतर्फ सम्बद्ध निकायको ध्यान पुग्न सकेको छैन ।
बिर्तामोड नगरपालिकाका प्रबक्ताअग्निप्रसाद पाण्डेले सार्वजनिक जग्गा मिल्न नसक्नु नै ढिला हुनको मुख्य कारण रहेको बताउनु भयो ।
उहाँले जग्गा मिलेन भनेर नगरपालिका चुप लागेर नबस्ने बताउनु भयो । केही समय जग्गाको खोजी गर्ने र नपाएमा घुम्ती शौचालय नैै भएपनी सञ्चालनमा ल्याइने बताउनु भयो ।
२०४० सालमा वीरता जेसिजले मध्य बिर्तामोडको अन्दुवा पुलछेउ निर्माण गरेको शौचालय सडक विस्तारका क्रममा २०५४ सालमा भत्काइएपछि १५ वर्षयता बिर्तामोड सहर सार्वजनिक शौचालयविहीन रहको छ ।
बिर्तामोड उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष निर्मल भट्टराईले १५ वर्ष यता सार्वजनिक शौचालय बन्न नसक्नु विडम्वना रहेको बताउनु भयो ।
उहाँले बिर्तामोडको सबैभन्दा ठुलो समस्या नै शार्वजनिक शौचालय रहेको बताउनु भयो । बिर्तामोडलाई यसअघि नै खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ ।
तर, सार्वजनिक शौचालयको अभावमा यसको कार्यान्वयन हुन सकेको छैन ।
जनसङ्ख्या, व्यावसायिकता, आर्थिक कारोबार, पहाड र तराईको संगमका रुपमा समेत परिचित बिर्तामोड झापाको राजधानी सरह रहेको छ ।
विकासका अन्य पूर्वाधारहरू उपलब्ध भए पनि सार्वजनिक शौचालयको अभावमा यहाँ आउने जो कोहीले समस्या झेल्नुपरेको छ ।