जङ्गली हात्तीको आक्रमणबाट दमक-३ मा एक जनाको मृत्यु
झापाको दमक नगरपालिका वडा न. ३ दिपज्योती टोलमा जंगली हात्तीको आक्रमणमा परी एक जनाको ज्यान गएको छ । आइतबार बिहान करिब २ बजे दिपज्योती टोलमा पसेको जङ्गली हात्तीको आक्रमणमा सोही ठाउँका ४५ बर्षिय मिनबहादुर भण्डारीको ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार छिमेकी सुविन भट्टराईको घर हात्तीले भत्काउन थालेपछि त्यसलाई धपाउन खोज्दा भण्डारी आक्रमणमा परेका हुन् । हात्तीले लछारपछार पार्दा निजको घट्नास्थलमै नै मृत्यु भएको हो ।
दमक ३ का वडाध्यक्ष नबिन बरालले चुरे क्षेत्रमा देखापर्ने हात्तीले त्यस भेगमा हरेक बर्ष एक÷दुई जनाको ज्यान लिने गरेको बताए । हात्ती आहार खोज्दै गाउँतिर पस्नाले जोखिम बढेको र रातैभर दुख दिने गरेको स्थानीयबासी बताउँछन् ।
नजिकै रहेको भुटानी शरणार्थी शिविर बेलडाँगीमा पनि हात्तीले दैनिक जसो रातभर दुख दिने गरेको छ । बेलडाँगी शिविरमा बसोबास गर्ने दुइ शरणार्थीको यश अघिनै जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भइसकेको छ ।