झापाको कन्काई ६ मा ९ जनाको उम्मेद्वारी दर्ता
झापा। झापाको एकमात्रै उपनिर्वाचन हुने क्षेत्र कनकाई नगरपालिका वडा नं. ६ मा वडाअध्यक्ष पदका लागि ९ जनाको उम्मेद्वारी परेको छ ।
यसअघिका वडा अध्यक्ष एमाले पार्टीका दिर्घबहादुर थापाको निधन भए पछि आगामी मंसीर १६ गते हुने उपनिर्वाचनमा भाग लिन १ जना स्वतन्त्र सहित ९ जनाको उम्मेद्वारी परेको हो ।
नेकपा एमालेको तर्फबाट तुलाराम बस्नेत, नेपाली काँग्रेसबाट रामगोपाल ओली, नेकपा माओवादी केन्द्रबाट गणेशबहादुर थापाको उम्मेद्वारी परेको छ ।यस्तै यसअघिका निकटतम् प्रतिष्पर्धी स्वतन्त्र उम्मेद्वार लक्ष्मीप्रसाद ओलीले पनि पुनः उम्मेद्वारी दिएका छन् ।
यस्तै राप्रपाबाट नारायण प्रसाद निरौला, मंगोल नेशनल अर्गानाइजेशनबाट पदमबहादुर तामाङ, नागरिक उन्मुक्तिबाट जमुना राजवंशी, जनमतबाट शुकलाल राजवंशी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दलबहादुर श्रेष्ठको उम्मेद्वारी परेको मुख्य निर्वाचन अधिकृत तथा झापा जिल्ला अदालतका न्यायधिश उमेशप्रसाद लुईटेलले बताए ।
उनका अनुसार उम्मेद्वारी दिएका उम्मेद्वारहरुको भोलि सोमबार उम्मेदवारको विरोधमा उजुरी दिने र मंगलवार भने उजुरी उपर छानविन गरी मंसिर ५ गते उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक गरिने छ ।