चिया क्षेत्रका समस्या सम्बोधनका लागि पहल गर्छु ः सभामुख घिमिरे

बिर्तामोड, ३ मंसिर । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले चिया क्षेत्रका समस्या सम्बोधनका लागि आवश्यक पहल गर्ने बताएका छन् ।

सोमबार बिर्तामोडमा भएको छलफलमा सभामुख घिमिरेले चिया क्षेत्रका समस्या सम्बोधनका लागि पहल गर्ने बताएका हुन् ।

प्रादेशिक चिया समन्वय समितिको तर्फबाट कार्यक्रममा सभामुख घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाइएको थियो । सरोकारवालाले चिया ऐन निर्माण, विनियोजित बजेट कार्यान्वयन लगायत विषयमा झापाका चिया सरोकारवालाले सभामुख घिमिरेको ध्यानाकर्षण गराएका छन् ।

गृहजिल्ला झापा आएका सभामुख घिमिरेलाई उनको बिर्तामोड स्थित निजी निवासमा बिहान भेट गरी लिखित पत्रसहित सरोकारवालाले ध्यानाकर्षण गराएका हुन् ।

नेपालमा चिया रोपण भएको १ सय ६१ वर्ष पुग्दा समेत चिया ऐन निर्माण नभएको सरोकारवालाले सभामुख घिमिरेलाई अवगत गराएका थिए ।

४ अर्ब विदेशी मुद्रासहित वार्षिक करिब ११ अर्बको आर्थिक कारोबार हुने चिया क्षेत्र ऐन कानुनको अभावमा व्यवस्थित गर्न नसकिएको उनीहरुको भनाई छ ।

प्रादेशिक चिया समन्वय समितिका संयोजक आदित्य पराजुलीले चिया ऐन निर्माणमा पहल गर्न सभामुख घिमिरेलाई आग्रह गरे ।

उनले ऐनको अभावमा चिया क्षेत्रले गैरकृषि अवरोधहरु भोग्नु परिरहेको बताए । चिया कोशी प्रदेशको प्रमुख आर्थिक क्षेत्र भएपनि तीनै तहका सरकारको बेवास्तामा परेको दुखेसो गरे ।

उनले संघ र प्रदेश सरकारको सहकार्य र समन्वय हुन नसक्दा चालु आर्थिक वर्षमा कोशी प्रदेश सरकारले चिया क्षेत्रका लागि विनियोजन गरेको २ करोड ६५ लाख रुपैयाँ खर्च गर्न कठिनाई भइरहेको जानकारी गराए ।

उनले प्रदेश सरकारले विनियोजन गरेको बजेट कार्यान्वयन गर्ने अवस्था सिर्जना गरिदिन समेत आग्रह गरे ।

Leave a comment

Your email address will not be published. Required fields are marked *