#राजनीति #समाचार #समाज

अहिले राज्यलाई कमजोर पार्न सुनियोजित प्रचार गरिदैछ : पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कमजोर राज्यले नागरिकको अधिकार संरक्षण गर्न नसक्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल केन्द्रीय समितिको दोस्रो बैठकलाई शुक्रबार ललितपुरमा सम्बोधन गर्दै महासचिव पोखरेलले अहिले राज्यलाई कमजोर पार्न सुनियोजित प्रचार गरिएको बताउनुभयो । यसले राज्य र नागरिकका बिचमा द्वन्द्व सिर्जना गरेको उहाँको धारणा छ ।

‘लोकतन्त्रलाई राज्यलाई बलियो बनाउने र बलियो राज्यका मध्यमबाट नागरिकलाई बलियो बनाउने कुराको पैरवी गर्नु पर्दछ’, उहाँले भन्नुभयो ।

आमसञ्चार माध्यमले हरेक घटनालाई राज्य र नागरिकका बिच गहिरो सम्बन्ध कायम गर्ने कोणबाट विश्लेषण गर्नु पर्ने उहाँको धारणा छ । समाचारले समाजलाई सकारात्मक प्रभाव पार्नु पर्नेमा उहाँले जोड दिनुभयो । नकारात्मक समाचारले समाजलाई गलत दिशा तर्फ लैजाने उहाँको धारणा छ । ‘ नकारात्मक समाचारलाई समाजलाई गलत दिशा तर्फ लैजान्छ, कस्तो समाज निर्माण गर्ने भन्ने सन्दर्भमा सोचेर हामीले समाचार सम्प्रेषण गर्नुपर्दछ’, उहाँले भन्नुभयो ।

उहाँले पत्रकार सधैँ सिर्जनात्मक हुनु पर्ने बताउनुभयो । त्यसो भएन भने पत्रकार नसुनिने र नदेखिन पात्र बन्ने पोखरेलको धारणा छ । ‘ पत्रकार समाजमा देखिने र सुनिने बन्नु पर्दछ, निर्णायक क्षणमा पार्टी र राष्ट्रको पक्षमा आफ्नो सामर्थ्य देखाउनु पर्दछ’, पोखरेलले भन्नुभयो ।
सूचनामा बल हुने बताउँदै उहाँले यसको लागि बलियो नेटवर्क हुनु पर्ने बताउनुभयो । पोखरेलले प्रेस चौतारी नेपाललाई बलियो नेटवर्क बनाउन आग्रह गर्नुभयो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *