#समाचार

काँकरभिट्टाबाट पक्राउ भारतीको धन्दा : लक्ष्मीपुरमा कोठाभाडा लिएर नक्कली नोट छापेको पुष्टि

बिर्तामोड । नक्कली नोटसहित झापाको काँकरभिट्टाबाट पक्राउ परेका तेह्रथुम ओयाक्जुङ –५ का २८ वर्षीय गणेश भारतीले झापामा कोठाभाडा लिएर नक्कली नोट छाप्ने गरेको प्रहरीले थप अनुन्धानबाट फेला पारेको छ ।

गत जेठ १८ गते काँकरभिट्टास्थित नेपाल बैंक अगाडिबाट प्रहरीले भारतीलाई नक्कली एक लाख रुपैयाँसहित पक्राउ गरेको थियो । झापाको कनकाई नगरपालिका– ८ लक्ष्मीपुरमा कोठा भाडामा लिई बस्दै आएको भारतीको साथबाट १ हजारका १ सय थान नक्कली नोट बरामत गरेको थियो ।

सो घटनामा झापा प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गर्ने क्रममा उनले नक्कली नोट आफैले छपाई गरी चलन गरेको खुलेको छ । प्रहरी निरीक्षक राज कुमार कार्की समेतको अनुसन्धान टोलीले लक्ष्मीपुरस्थित कोठामा तलासी गर्दा थप नक्कली नोटहरु फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार विभिन्न दरका नेपाली नक्कली (खोटा मुद्रा) ५ लाख ३० हजार ६ सय ८० रुपैयाँ सहित नोट छाप्ने गरेको मेसिन थान, नोटमा प्रयोग हुने विभिन्न प्रकारका रंग लगायतका प्रमाणहरु बरामद गरिएको झापा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार १ हजार दरका नक्कली (खोटा मुद्रा) ४७० थान, ५ सय दरका २८२ थान, १ सय दरका १९० थान, ५० दरका १२ थान र २० दरका ४ थान बरामद गरिएको छ ।

१ थान प्रिन्टीङ मेसिन, ३ थान मोवाईल, १ थान कैची, नोट बनाउन प्रयोग भएको कागज कपी २ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *