प्रधानमन्त्रीले गरे भरतपुरको ६ लेन सडकको उद्घाटन

काठमाडौं ५ बैशाख । शिलान्यास गर्दा २७ महिनाभित्रै सक्ने भनिए पनि २० महिना ढिला भई ४७ महिनामा काम सकिएको पूर्व(पश्चिम राजमार्गको ६ लेनमा विस्तार भएको भरतपुर महानगरपालिका हुँदै जाने सडकको शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।
नारायणगढ पुल्चोकदेखि भरतपुर गोन्द्राङसम्म ६ किलोमिटर दूरीको सो खण्डको विस्तारको शिलान्यास पनि यसअघि प्रधानमन्त्री भएका बेलामा ओलीले नै गरेका थिए ।
उनले २०७७ साल माघ १७ गते विस्तारको कामको भरतपुर विमानस्थल आडमा आयोजित कार्यक्रममा शिलान्यास गरेका थिए । शुक्रबार उद्घाटन पनि सोही ठाउँमा भएको हो । उद्घाटन गर्दा २७ महिनाभित्र काम सक्ने लक्ष्य तय गरिए पनि गत पुस मसान्तमा बल्ल काम पूरा भएको थियो ।
कोरोना महामारीलगायत समस्याले ४७ महिना समय लागेको भरतपुर डिभिजन सडक कार्यालयका प्रमुख नारायणप्रसाद लामिछानेले बताए । १ अर्ब १३ करोड रूपैयाँको लागतमा विस्तारको काम पूरा भएको उनले जानकारी दिए ।