#अन्तर्राष्ट्रिय #राजनीति #समाचार

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय

अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) ले बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ६ महिनाको जेल सजाय सुनाएको छ । आईसीटीले अदालतको अवहेलना मुद्दामा पूर्वप्रधानमन्त्री हसिनालाई जेल सजाय सुनाएको बीबीसीले जनाएको छ ।

गएको वर्षको अगस्टमा बङ्गलादेशमा तत्कालीन सरकारविरुद्धको विरोध प्रदर्शनपछि शेख हसिनाले सत्ता छोड्नुपरेको थियो । त्यसपछि उहाँलाई कुनै पनि मुद्दामा सजाय सुनाइएको यो पहिलो पटक हो ।

यस्तै अदालतको अवहेलना मुद्दाका अर्का अभियुक्त शकील अकन्द बुलबुललाई अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले दुई महिनाको जेल सजाय सुनाएको खबरमा उल्लेख छ ।

प्रमुख अभियोजक ताजुल इस्लामले यो सजाय शेख हसिनाले आत्मसमर्पण गरेको दिनदेखि वा प्रहरीले उहाँलाई पक्राउ गरेको दिनदेखि लागू हुने बताउनुभएको छ ।

सामाजिक सञ्जालमा भाइरल भएको एउटा अडियोमा हसिनाले शकील अकन्द बुलबुलसँग आफूविरुद्ध २ सय २७ वटा मुद्दा दायर भएको र यसले आफूलाई २ सय २७ जनाको हत्या गर्ने लाइसेन्स प्राप्त भएको टिप्पणी गर्नुभएको थियो ।

गएको अगस्टमा विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलनले पूर्वप्रधानमन्त्री हसिनालाई अपदस्थ गरी सरकार ढालेको थियो । अहिले बङ्गलादेशमा नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनूसको नेतृत्वमा अन्तरिम सरकार सञ्चालनमा छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *