रामनवमीको अवसरमा छठ समाज सेवा समितिद्वारा पाउ पाथिभरा भण्डारा कार्यक्रम सम्पन्न

चारआली, २४ चैत— धार्मिक एवं सामाजिक सेवा कार्यमा सक्रिय छठ समाज सेवा समिति बिर्तामोडले यस वर्षको रामनवमीको अवसरमा विशेष भण्डारा कार्यक्रम आयोजना गरेको छ ।
समितिले चारआली स्थित पावन धार्मिक स्थल पाउपाथिभरामा श्रद्धालु भक्तजनलाई निःशुल्क भोजन वितरण गर्ने उदेश्यले भण्डाराको आयोजना गरिएको छठ समाज सेवा समितिका अध्यक्ष रामेश्वर दुवेदीले जानकारी दिनुभयो ।
रामनवमी हिन्दू धर्मालम्बीहरूको महत्वपूर्ण पर्व हो, जसलाई भगवान रामको जन्मोत्सवको रूपमा मनाइन्छ ।
यो अवसरमा देशभरका मन्दिरहरूमा विशेष पूजा–आराधना, झाँकी, शोभायात्रा र भजनकीर्तन गरिन्छ। यस्तै अवसरमा श्रद्धालुहरूको सेवामा समर्पित रहँदै छठ समाज सेवा समितिले ‘भक्ति र सेवा’लाई मूल मन्त्र बनाउँदै भण्डाराको आयोजना गरेको जनाएको छ।
समितिका अध्यक्ष दुवेदीले भन्नुभयो, “धार्मिक पर्वहरू केवल पूजाअर्चनाको माध्यम मात्र होइनन्, सामाजिक एकता, सद्भाव र सेवा भावको अनुपम अवसर पनि हुन्। भण्डारा कार्यक्रममार्फत हामीले भक्तजनलाई सेवा गर्ने, परोपकारको भावना अभिवृद्धि गर्ने र सामूहिक सहभागितालाई प्रोत्साहन गर्ने उद्देश्य राखेका छौं।”
पाउपाथिभरामा आयोजित यस भण्डारामा हजारबढी श्रद्धालुहरू सहभागी भएका थिए । आयोजकहरूका अनुसार, भण्डारामा शुद्ध, सात्त्विक भोजन – खिचडी, तरकारी, अचार तथा मिष्ठान्नको व्यवस्था गरिएको थियो ।
श्रद्धालुहरूको सेवा गर्न, परोपकारी भावना विकास गर्न, धार्मिक मूल्यमान्यता प्रति सम्मान व्यक्त गर्न र समाजमा सकारात्मक सन्देश प्रवाह गर्न भण्डाराको आयोजना गरिएको छठ समाज सेवा समितिका बरिष्ठ उपाध्यक्ष संगिता रौनियारले बताउनु भयो ।
विशेषतः भीडभाड हुने पर्वका दिनहरूमा यस्तो आयोजनाले भक्तजनलाई सहजता मिल्ने र थकित शरीरलाई आराम दिने अवसर प्रदान गर्छ। छठ समाज सेवा समितिको यो पहलले धार्मिक तथा सामाजिक समन्वयलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।
समितिले आगामी दिनमा पनि यस्तै सेवा र सामाजिक हितमा केन्द्रित कार्यक्रम निरन्तर सञ्चालन गर्ने जनाएको छ ।
छठ समाज सेवा समितिले माथिल्लो पाथिभरामा गएको ९ दिनदेखी भक्तजनहरुको सेवाका निम्ति भण्डारा कार्यक्रम सञ्चालन गरिरहेको छ ।
भण्डारा कार्यक्रममा छठ समाज सेवा समितिका युवा फ्रन्ड सल्लाहकार उज्वलकुमार शाह लगायत कार्यसमिति पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।