सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस् : प्रधानमन्त्री

चितवन – प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला दलको साझेदारीमा निर्मित वर्तमान सरकार परिवर्तनको हल्लामा कुनै सत्यता नभएकाले ढुक्कसाथ विकास निर्माणसहित सुशासनका काममा केन्द्रित हुन आग्रह गर्नुभएको छ ।
चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशमा स्थिरता, विकास र सुशासन दिनका लागि इतिहास बोकेका ठूला दलहरू एकसाथ मिलेर यो सरकार बनेकाले सरकार आफ्नो लक्ष्य र गन्तव्यमा सुस्पष्ट रहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘देशलाई सुशासनयुक्त बनाउन, नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउन हामी पूर्णरूपमा लागेका छौँ । तपाईंहरू पनि ढुक्कका साथ यस अभियानमा लाग्नुस् । सबै मिलेर देश बनाऔँ ।’ उहाँले नयाँ भवनबाट गाउँपालिकाको सुशासन र सेवा प्रवाहका काममा सहजता आउने विश्वास पनि व्यक्त गर्नुभयो ।
कार्यक्रममा उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह, बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटालगायत सहभागी हुनुहुन्थ्यो ।