आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्दै बिर्तामाेड नगरपालिका

बिर्तामोड । बिर्तामोड नगरपालिकाले पछिल्लो समय कर प्रणालीलाई थप व्यवस्थित बनाउदै लगेको छ । करको दर होइन दायरा फराकिलो बनाउनुपर्छ भन्ने व्यवसायीको सुझावका आधारमा नगरपालिकाले सो अवधारणा अगाडि बढाएको हो ।
बिर्तामोड नगरपालिकाले २०७९ सालदेखि डिजिटल प्रविधिबाट कर प्रणालीलाई थप व्यवस्थित गर्दै लगेको छ । नगरपालिकामा पेपरलेस अभियान अन्तर्गत अनलाइन प्रणालीबाट १० वटै वडाबाट कर संकलन भइरहेको जनाइएको छ ।
नगरपालिकामा उपभोक्ताले एकपटक कागजपत्र बुझाइसकेपछि पुन त्यसको फोटोकपी लिएर जानुपर्ने झन्झटबाट मुक्त गर्ने अभियान अगाडि बढाएको छ । नगरपालिकाले लिएको अभियान अन्तर्गत हालसम्म बिर्तामोड नगरपालिकामा २ हजार ६ सय २० व्यवसायीहरू आवद्व भइसकेका छन् । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम तर्जुमाको अन्तिम तयारी गरेको छ । सोही नीति तथा कार्यक्रम मार्फत व्यवसायीहरूलाई अझ सुलभ र सहज ढङ्गले कर प्रणालीमा समेट्ने लक्ष्य लिएको बिर्तामोड नगरपालिकाका उप प्रमुख नगेन्द्र संग्रौलाले जानकारी दिए।
संग्रौलाले करका विषयमा निरन्तर खबरदारी गर्न आग्रह गरेका छन् । आफुले तिरेको कर सहि सदुपयोग भएको छ कि छैन भन्ने विषयमा नागरिकले खबरदारी गर्नु पर्ने बताएका हुन् ।
चालु आर्थिक वर्षमा २० करोड ५० लाख रुपैंयाँ कर सङ्कलन गर्ने नगरपालिकाको लक्ष्य रहेको थियो । चालु आर्थिक वर्षको हालसम्ममा १३ करोड ४२ लाख राजस्व सङ्कलन भइसकेको राजस्व शाखाका प्रमुख पदमराज घिमिरेले जानकारी दिए । घिमिरेले नगरपालिकाले लिएको लक्ष्य असार मसान्तसम्ममा पुग्न सक्ने अपेक्षा गरेका छन्।
चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा सम्पत्ति करतर्फ ३ करोड ८५ लाख, व्यावसायिक करतर्फ २ करोड ४ लाख, बहाल कर मार्फत २ करोड ६३ लाख, नक्सा पास कर मार्फत २ करोड ४ लाख र सिफारिस मार्फत १ करोड १६ लाख राजस्व सङ्कलन भएको छ । यी शीर्षक करको प्रमुख स्रोत हो ।
पछिल्लो समय आर्थिक मन्दी र कोभिड संक्रमणले गर्दा व्यवसायीहरूको व्यवसाय धारासायी बनिरहँदा पनि कर प्रणालीमा समाविष्ट हुन व्यवसायहरु उत्साहित देखिएको प्रमुख घिमिरेले बताएका छन्।
नगरपालिकाले वैज्ञानिक कर प्रणालीलाई अझ व्यवस्थित गर्नका लागि व्यवसायीहरूलाई विभिन्न जनचेतनामूलक कार्यक्रमहरू समेत गर्दै आइरहेको छ। नगरले व्यवसायीले तिरेको करले विकास निर्माणमा कसरी सहयोग पुग्छ र आफूले तिरेको कर आफ्नै ठाउँमा कसरी उपभोग गर्न सकिन्छ भन्ने कुरालाई उपभोक्तासम्म पुर्याउने अभियान चलाई रहेको उपप्रमुख संग्रौलाको भनाई छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले व्यवसायीहरूलाई दबाबले होइन उत्साहले कर तिर्ने वातावरण सिर्जना गर्ने नीति नगरले लिएको बताएका छन् । उनले प्रत्येक वर्ष नयाँ व्यवसायीहरू थपिँदै गएको समेत जानकारी दिए । मिश्रले करले समग्र नगरको विकासमा महत्वपूर्ण योगदान पुर्याएको धारणा राखेका छन् । नगरपालिकालाई आगामी दिनमा अझै सवल र सक्षम बनाएर लैजाने प्रतिवद्दता व्यक्त गर्दै उनले नागरिकबाट उठेको कर के कस्ता कार्यमा खर्च भईरहेको छ भन्ने कुराको जानकारी गराउनका लागि पनि समय समयमा करदाता शिक्षा कार्यक्रम आयोजना गरिएको बताए ।