घाइतेमध्ये तीनजनाको उपचारका क्रममा मृत्यु

पाँचथर । मेची राजमार्गको हेवा खोलामा निर्माणाधिन मोडुलर ब्रिज जोड्ने क्रममा भाँचिदा गम्भीर घाइते भएका ६ जना कामदारहरु मध्ये आइतबार ३ जनाको मुत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख कौशल कुमार बुढाथोकीका अनुसार उपचारका क्रममा तीनजनाको मृत्यु भएको हो ।
मुत्यु हुनेमा बर्ष २२ का रुपलालाल चौधरी, वर्ष २२ का राजन चौधरी, वर्ष २२ का रोकेश चौधरी रहेका छन् । मृतक सबै बारा जिल्ला सिमरा उपमहानगरपालिका १२ का हुन् ।
मृतक सबैलाई शनिबार राती पाँचथरमा उपचार सम्भव नभएपछि बिराटनगरको नोबेल अस्पतालमा रेफर गरिएको थियो । मृतकहरुको शव बिराटनगरको नोबेल अस्पतालमै रहेको प्रहरीले जनाएको छ ।
घाइते २५ वर्षीय भुलेश्वर चौधरी, ३५ वर्षीय प्रकाश चौधरी, ३० वर्षीय अभिशेक चौधरीको उपचार भइरहेको बताइएको छ । शनिबार ७० मिटर लामो सिङ्गल स्पानको मोडुलर ब्रिज जडान गरि वारपार गर्ने क्रममा भाँचिएको थियो । नेपालमा पहिलो पल्ट ७० मिटर लामो मोडुलर ब्रिज जडानको काम भईरहेको थियो ।
नेपालमा नयाँ भएकाले भारतीय प्राविधिकको सहयोगमा जडान कार्य गरिरहेका थिए । ७० मिटर लामो पुल लाई बिचमा कुनै सर्पोट गर्ने पिल्लर बिना निर्माण भइरहेको थियो । पक्की पुल बगाएर बनाएको बेलिब्रिज पनि बगाएपछि मेची राजमार्गमा पर्ने पाँचथरको हेवा खोलामा ‘मोडुलर ब्रिज’ निर्माण कार्य भइरहेको थियो । बर्षाको बाढिले २०८० सालमा पुल बगाएको थियो । पुल बगाएपछि बनाएको बेलिब्रिज २०८१ असोजको बाढिले बगाएको थियो । पुल भाँचिनको कारण खुल्न बाँकी छ ।