ताप्लेजुङ स्थित पाथिभरामा छठ समाज सेवा समितिद्वारा भण्डारा, ३३ हजार बढी भक्तजनले ग्रहण गरे भोजन

ताप्लेजुङ । चैत २५,भरत प्रसाई – छठ समाज सेवा समितिको आयोजनामा चैत १७ गतेदेखि सुरु भएको भण्डारा कार्यक्रम आजसम्म आइपुग्दा करिब ३३ हजारबढी भक्तजनहरूले भोजन ग्रहण गरेका छन्।
धार्मिक आस्थाको केन्द्रविन्दु मानिने पूर्वी नेपालकै महत्वपूर्ण तीर्थस्थल माथिल्लो पाथिभरामा आयोजित भण्डारा कार्यक्रम चैत २५ गते आजबाट औपचारिक रूपमा समापन भएको छठ समाज सेवा समितिका अध्यक्ष रामेश्वर दुवेदीले जानकारी दिनुभयो ।
उहाँले भण्डाराको मुख्य उद्देश्य माथिल्लो पाथिभरामा दर्शन गर्न आउने श्रद्धालु भक्तजनलाई सहज र निःशुल्क भोजन सुविधा उपलब्ध गराउनु रहेको बताउनु भयो । कठिन हिमाली भूगोल पार गरेर दर्शन गर्न आउने भक्तजनलाई आत्मीय सेवा प्रदान गर्नु नै समितिको मूल लक्ष्य रहेको उहाँको भनाइ छ ।
छठ समाज सेवा समितिले स्थानीय स्वयंसेवकको सहयोगमा अत्यन्त व्यवस्थित रूपमा खाना वितरण गरेको श्रद्धालु भक्तजनहरुको भनाइ रहेको छ ।
छठ समाज सेवा समितिले यस्तो पुण्य कार्यमा सहयोग गर्ने सम्पूर्ण दाताहरूप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि यस्ता सेवा कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
छठ समाज सेवा समितिकी बरिष्ठ उपाध्यक्ष संगिता रौनियारले सहयोगी दाता सामेनाथ तिम्सिना,शम्भुनाथ भण्डारी,कामेश्वर गणेश,प्रकाश बिमली एवं होम गिफ्ट एण्ड किचन सप्लार्यस प्रति हार्दिक आभार व्यक्त गर्दै सेवाको निस्वार्थ भावनाले गरिएको पुण्यकामबाट सबैमा माताको कृपा रहने विश्वास व्यक्त गर्नु भयो । भण्डारा सम्पन्न गर्न करीव ८ लाख खर्च भएको अध्यक्ष दुवेदीले बताउनु भयो ।
ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका–१ स्थित माथिल्लो पाथिभरा मन्दिर नेपालको एक प्रमुख शक्ति पीठ मानिन्छ। समुद्री सतहबाट करिब ३७०४ मिटरको उचाइमा अवस्थित यो तीर्थस्थल विशेषतः चैते दशैँ, राम नवमी र विभिन्न धार्मिक पर्वहरूमा दर्शनार्थीले भरिने गर्दछ ।
पाथिभरा देवीलाई शक्तिशाली देवीका रूपमा पूजिन्छ र यहाँ मागेका मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ। हरियाली डाँडाकाँडा, हिमालको मनोरम दृश्य र आध्यात्मिक ऊर्जा मिल्ने यस पवित्र स्थलले पर्यटक र तीर्थयात्री दुवैलाई लोभ्याउने गरेको छ ।
छठ समाज सेवा समितिले पाथिभराको धार्मिक गरिमा र श्रद्धालुहरूको सेवामा योगदान पु¥याएर एक सकारात्मक उदाहरण प्रस्तुत गरेको छ।