#राजनीति #समाचार

माओवादी केन्द्रको आरोप – ‘सरकार पूर्ण रूपमा फेल भइसक्यो’

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले सरकार सम्पूर्ण रूपमा फेल भएको आरोप लगाएको छ ।

बुधवार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा माओवादीले यस्तो आरोप लगाएको हो । नेकपा ( माओवादी केन्द्र) का उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले जनता निराश र आक्रोशित रहेको भन्दै सरकारको कुशासन र नालायकीका कारणले प्रतिगामी तत्वहरू सलबलाइरहेको बताउनु भयो ।

उहाँले सरकारप्रति नागरिकहरूको आक्रान्तले सीमा नाघिसकेको आरोप लगाउनु भयो । शिक्षकहरू, चिकित्सकहरू, नर्सहरू, लघुवित्तपीडितहरू, सहकारी पीडितहरू, कर्मचारीहरू आन्दोलित आन्दोलनमा उत्रिएको भन्दै उपाध्यक्ष सापकोटाले राज्यका कुनैपनि क्षेत्रले शान्तिसँग काम गर्न नसकेको जिकिर गर्नुभयो ।

उहाँले समस्याहरूको समाधानको सट्टा सरकार उल्टो गतिमा हिँडिरहेको आरोप समेत लगाउनु भयो । सत्तापक्षकै नेताहरू नै सरकारका कार्यसम्पादनप्रति सन्तुष्ट नरहेको बताउँदै सरकार जनताका समस्या समाधानमा गैर जिम्मेवार बनेको आरोप लगाउनु भयो ।

नेकपा (माओवादी केन्द्र) ले विद्यालय शिक्षा विधेयकलाई फास्ट ट्रयाकबाट पास गरी शिक्षकका मागहरू सम्बोधन गर्न सरकारसँग माग गरेको छ । उपाध्यक्ष सापकोटाले प्रधानमन्त्री शिक्षकका माग पूरा गर्न भन्दा उनीहरूलाई होच्याउने तथा अपमानित गर्ने काम गरिरहेको आपत्ति जनाउनु भयो ।

साथै, उहाँले हुलाकी मार्ग  केन्द्रित तराई मधेस जागरण अभियान कपिलवस्तुसम्म आइपुगेको बताउनुभयो । उहाँले यो अभियानमा एक करोडको हाराहारीमा जनतासँग संवाद भएको दाबी गर्नुभयो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *