#राजनीति #समाचार #समाज

रवीन्द्र मिश्रसहितका आरोपितलाई पुनः म्याद थप गर्न अदालत लगियो

विभिन्न अभियोगमा अनुसन्धानका लागि थुनामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहितका आरोपितलाई प्रहरीले पुनः म्याद थपका लागि अदालत पेश गरेको छ ।

गत १५ चैतमा पक्राउ परेका मिश्रसहितका आरोपितलाई आठौंपटक म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको हो ।

राजावादीले १५ चैतमा काठमाडौंको तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक भएपछि त्यसमा भूमिका खेलेको आरोपमा मिश्रलगायतमाथि प्रहरीले विभिन्न अभियोगमा अनुसन्धान गरिरहेको छ ।

मिश्रसँगै पक्राउ परेका राप्रपा महामन्त्री डा. धवलशमशेर राणालाई स्वास्थ्य अवस्थाको कारण देखाएर प्रहरीले थुनाबाहिर राखेर अनुसन्धान गरिरहेको छ । पछि पक्राउ परेका त्यस दिनको आन्दोलनका कमान्डर भनिएका दुर्गा प्रसाईं पनि थुनामै छन् ।

यस्तै, वैशाख १० गते तीन दिन र वैशाख १४ गते सात दिन र वैशाख २१ मा पाँच दिनको म्याद पाएको थियो । मंगलबार उक्त समय अवधि सकिएसँगै पुनः म्याद थपका लागि जिल्ला अदालत पेस गर्न लागिएको हो ।

मिश्रमाथि प्रहरीले राज्यद्रोह, संगठित अपराध, आपराधिक उपद्रव कसुरमा अनुसन्धान थालेको छ । प्रसाईंसहित केहीलाई भने कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग कसुर लगाएको छ ।

तीनकुने घटनामा अराजक प्रदर्शन गर्ने, लुटपाट गर्ने करिब ९० जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ । त्यसमध्ये २४ जना प्रहरीले थुनामा राखेर अनुसन्धान जारी राखेको छ । केहीलाई भने थुनाबाहिर राखेर अनुसन्धान गरिरहेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *