लिङ्कन मन्टेसोरी स्कुलमा एक दिवसीय दन्त परीक्षण कार्यक्रम सम्पन्न

झापा । झापाको बिर्तामोड–३ स्थित लिङ्कन मन्टेसोरी स्कुलको आयोजनामा तथा लोक स्वास्थ्य डेन्टलको सहजीकरणमा एक दिवसीय निःशुल्क दन्त परीक्षण कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रम लिङ्कन मन्टेसोरी स्कुलमा सम्पन्न भएको हो ।
कार्यक्रममा डेन्टल विशेषज्ञहरूले बालबालिकाहरुलाई दाँत सफा राख्ने तरिका, क्याभिटीबाट बच्ने उपाय, र नियमित मुख स्वास्थ्य परीक्षणको महत्त्वबारे जानकारी दिएका थिए ।
उक्त परीक्षण कार्यक्रममा बालबालिका तथा उहाँहरूको अभिभावकसहित करिब १५० जनाले सेवा लिएका थिए । उक्त दन्त परीक्षणमा आश्मा भट्टराई र विनिता तामाङले परीक्षण सेवा प्रदान गर्नुभएको थियो । विद्यालयका सञ्चालक सरोज पौडेलका अनुसार शिक्षण–सिकाइसँगै विद्यार्थीहरूको स्वास्थ्यलाई पनि मध्यनजर गर्दै यस्ता कार्यक्रमको आयोजना गरिएको हो ।
उहाँले “विद्यालयले विभिन्न समयमा यस्ता गतिविधिहरू गर्दै आइरहेको र यस कार्यक्रमले विद्यार्थीमा स्वास्थ्यप्रति सचेतना बढाउने बताउनुभयो ।
लोक स्वास्थ्य डेन्टलका प्रबन्ध निर्देशक पंकज प्रसाईले सामाजिक उत्तरदायित्व अन्तर्गत शिविरको व्यवस्थापन गरिएको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता जनस्वास्थ्य कार्यक्रमलाई अन्य विद्यालयमा विस्तार गर्ने योजना रहेको बताउनुभयो ।