वर्ष २०८१ : ४ वटा चलचित्रको व्यापार १० करोडभन्दा धेरै, पूर्णबहादुरको सारङ्गीले इतिहास रच्यो

२०८१ साल नेपाली चलचित्र क्षेत्रका लागि समग्रमा सुखद रहेको छ । यस वर्ष प्रदर्शन भएको चलचित्र पूर्णबहादुरको सारङ्गीले घरेलु बजारमा गरेको व्यापार इतिहास बनेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्स अफिस) मा पूर्णबहादुरकाे सारङ्गीले ४६ करोड ८० लाख कारोबार गरेको तथ्याङ्क छ । यो नेपाली चलचित्रले गरेको व्यापार इतिहासमै धेरै हो ।
यो वर्ष पूर्णबहादुरको सारङ्गी, १२ गाउँ, छक्कापञ्जा ५ र बोक्सीको घर गरी चार वटा चलचित्र १० करोड रुपैयाँभन्दा धेरैको व्यापार गर्न सफल भएका छन् । बक्स अफिसको तथ्याङ्कानुसार १२ गाउँले १९ करोड ९२ लाख, छक्कापञ्जा–५ ले १५ करोड २० लाख र बोक्सीको घरले १० करोड दुई लाख रुपैयाँको व्यापार गरेको छ । यस्तै अहिले प्रदर्शन भइरहेको अञ्जिलाले सात करोड ५० लाख रुपैयाँ व्यापार गरेको छ ।
चलचित्र विकास बोर्डको तथ्याङ्कानुसार यस वर्ष ६० वटा नेपाली चलचित्र चलचित्र प्रदर्शन भइसकेका छन् भने दुई वटा चलचित्र पिताम्बर र कर्मा भाेलिदेखि प्रदर्शन हुँदैछन् ।