सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त : राष्ट्रपति
काठमाडौँ, १ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले समृद्धिको बाटोमा बाधक बनेर देखिने बेथितिको अन्त्य, सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त भएको बताउनुभएको छ ।
नव वर्ष २०८२ को सुखद् अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले आजको दिन जनताको यही चाहना पूरा गर्ने सङ्कल्प गर्न उहाँले आग्रह गर्नुभएको छ । “आजको दिन राष्ट्रको उन्नति र समृद्धिका लागि उत्साहका साथ जुट्न र एउटा साझा संकल्प लिएर अघि बढ्न म सम्वद्ध सबैलाई अपिल गर्दछु”, उहाँले भन्नुभएको छ ।
शुभकामना सन्देशमा विक्रम संवत् प्राचीन हिन्दू परम्परा र वैदिक समयाङ्कनमा आधारित शौर्य संवत् रहेको उल्लेख गर्दै उहाँले इतिहास र सामाजिक जीवनमा लामो समयदेखि स्थापित यो संवत्ले हाम्रो सभ्यता, सामाजिक जीवन र परम्पराहरूको प्रतिनिधित्व गर्दै नेपालको गौरवमय विगतलाई सम्झाउने र उन्नत भविष्यतिर अगाडि बढ्न प्रेरित गर्ने उल्लेख गर्नुभएको छ ।