स्थायी रुपमै देश छाड्ने नेपालीको संख्या बढ्यो, २ वर्षमा मात्रै १ लाख ३७ हजार छोडे

काठमाडौं । स्थायी रुपमै देश छाड्ने नेपालीको संख्या बढ्दै गएको छ । मुलुकमा बढ्दो भ्रष्टाचार, राजनीति खिचातानि, अराजकता, बेथिति, बेरोजगारी जस्ता कारणले वाक्कदिक्क भएर नेपालीहरुले सधैँका लागि देश छाड्ने क्रम बढ्दो रुपमा देखिएको हो । पछिल्लो २ वर्षको मात्रै सरकारी तथ्यांक हेर्ने हो भने १ लाख ३७ हजार नेपाली स्थानीय रुपमै देश छाडेर विदेशमा बसाइँ सरेका छन् ।
अध्यागमन कार्यालयकाअनुसार त्यसरी देश नै छाडेर विदेश बसाईंसराईं गर्नेहरुमा महिला भन्दा पुरुषको संख्या धेरै देखिन्छ । दुई वर्षको अवधिमा मात्रै ७१ हजार २०७ जना नेपाली पुरुष स्थायी रुपमै बसाईं सरेर नेपालबाट अनुमति लिएरै विदेश गएका छन् । त्यस्तै त्यसरी बसाईं सरेर विदेश जाने महिलाको संख्या ६६ हजार ५ सय ३८ रहेको छ ।
अध्यागमन कार्यालयबाट प्राप्त तथ्यांकअनुसार सन् २०२३ मा मात्रै स्थायी रुपमै विदेशमा बसाईं सरेर ७० हजार ९ सय १५ नेपाली गएका छन भने सन् २०२४ मा ६६ हजार ८ सय ३५ नेपाली सधैँ उतै बस्नेगरी गएका छन् । यसले ठूलो संख्यामा नेपाली देश नै छाडेर विदेशमा बसाईं सरिरहेको देखाएको छ ।
पछिल्लो समयमा नेपालमा लगानीको वातावरण नभएको भनेर अड्कलबाजी भइरहेको बेला कतै हजारौँ नेपालीमार्फत स्वदेशी पुँजी पलायन भइरहेको त छैन भन्ने आशंका विभागको तथ्यांकले देखाएको छ । तर देश छाड्ने नेपालीको पृष्ठभूमि परिचय भने सरकारले ट्रयाक गर्ने गरेको छैन ।
स्थायी मात्रै नभई अस्थायी रुपमा उतै बस्नका लागि पनि ठूलो संख्यामा नेपालीहरु विदेश गईरहेको सरकारी तथ्यांकले देखाउँछ । सन् २०२३ मा ९२ हजार ३ सय ४९ जना नेपाली अस्थायी रुपमा विदेशमा बस्नेगरी नेपालबाट अनुमति लिएर गएका छन भने सन् २०२४ मा मात्रै ६६ हजार ८३५ नेपाली अस्थायी रुपमा विदेशमा बस्नका लागि एयरपोर्ट प्रयोग गरेर नेपाल छाडेको अध्यागमन कार्यालयको तथ्यांकले देखाउँछ ।