#विचार #शिक्षा #समाचार #समाज

ट्राफिक इन्स्पेक्टरले प्रहरी जवानलाई कुटेको भिडिओ भाइरल, दुवैलाई जिम्मेवारीबाट हटाएर अनुसन्धान सुरु

काठमाडौँ । नागढुङ्गामा एक ट्राफिक प्रहरी इन्स्पेक्टरले जनपद प्रहरी जवानलाई कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेपछि घटनाको छानबिन थालिएको छ ।

प्रहरी प्रधान कार्यालय, काठमाडौँ उपत्यका कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले भिडिओमा देखिएका दुवै प्रहरीलाई जिम्मेवारीबाट हटाई अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

घटनापछि ट्राफिक इन्स्पेक्टरलाई ट्राफिक प्रहरी महाशाखा तथा जवानलाई उपत्यका प्रहरी परिसर, काठमाडौँमा फिर्ता बोलाइएको हो ।

साथै, छानबिनका लागि प्रहरी उपरीक्षक (डीएसपी) एलिजा गिरीको नेतृत्वमा समिति गठन गरिएको प्रहरीले जनाएको छ ।

“उपत्यका प्रहरी कार्यलयबाट डीएसपीको कमान्डमा छानबिन समिति गठन भएको छ,” एसएसपी खनालले टेकपानासँग भने, “समितिले स्थलगत अध्ययन र विवरण संकलन गरी प्रतिवेदन तयार पार्नेछ ।”

बुधबारदेखि सामाजिक सञ्जालमा भाइरल भिडिओमा ट्राफिक इन्स्पेक्टरले जवानलाई सार्वजनिक स्थानमा पटक-पटक कुटेको देखिन्छ ।

जवानले प्रतिकार नगरेर चुपचाप सहिरहेको दृश्य देखिएको भिडिओप्रति सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रहरी जवानप्रति सहानुभूति व्यक्त गरेका छन् ।

कतिपयले सो घटनालाई अमानवीय भन्दै इन्स्पेक्टरमाथि कडा कारबाहीको मागसमेत गरेका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *