#राजनीति #समाचार #समाज

रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई, चितवनको सभालाई शान्त बनाउन निर्देशन

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेपछि कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डीपी अर्यालले पाउनुभएको छ ।

लामिछाने पक्राउ भएलगत्तै हिजो बेलुकी बसेको पार्टीको सचिवालय बैठकले अर्याललाई कार्यवाहकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

बैठकले अदालत र अदालतको निर्णयको सदैव सम्मान गर्दै अदालत, संविधान र कानूनमा आधारित रही अर्को तह र ढोकामा न्यायको लागि अघि बढ्ने निर्णय गरेको छ ।

यस्तै, आज दिउँसो २ बजे चितवनको भरतपुरमा आयोजना हुन लागेको  सभालाई  शान्त र सौम्य बनाउन बैठकले निर्देशन दिएको छ ।

सम्भावित घुसपैठ, चलखेल र बिथोल्ने प्रयासहरू रोक्नका लागि सबै सदस्यहरूलाई सचेत, संयमित र गम्भीर रहन बैठकले निर्देशन दिएको छ ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई सहकारीको रकम ठगी गरेको कसूरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएसँगै प्रहरीले गएराति बूढानीलकण्ठको हेपाली हाइटबाट पक्राउ गरेको हो ।

लामिछानेलाई आज रुपन्देही कारागार लगिँदैछ । सङ्गठित रूपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गर्नुभएको हो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *