#अन्तर्राष्ट्रिय #समाचार

अन्तरिक्ष स्टेशनमा ६ महिना बिताएका ३ चिनियाँ अन्तरिक्षयात्री पृथ्वीमा फर्किए

चीनको अन्तरिक्ष स्टेशनमा ६ महिना बिताएका एक महिलासहित तीन जना चिनियाँ अन्तरिक्षयात्री सकुशल पृथ्वीमा फर्किएका छन् । तीन जना बोकेको शेन्जोउ–१९ अन्तरिक्षयान उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रको डोङफेङमा अवतरण गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

चाई सुझे, सोङ लिङडोङ र वाङ हाओजे ६ महिने मिसनमा गएका थिए । उनीहरूले अक्टोबरदेखि अन्तरिक्ष स्टेशनमा काम गरेका थिए । त्यहाँ उनीहरूले सबैभन्दा लामो अन्तरिक्ष हिँडाइको नयाँ रेकर्ड कायम गरेका थिए ।

चिनियाँ अधिकारीहरूका अनुसार शेन्जोउ–१९ चालक दल हिजो फर्किने कार्यक्रम थियो तर अवतरण स्थलमा खराब मौसमका कारण मिसन स्थगित गरिएको थियो ।

चीन आफूलाई एक प्रमुख अन्तरिक्ष शक्तिका रूपमा स्थापित गर्ने लक्ष्यतर्फ अघि बढिरहेको छ । चीनले पछिल्ला वर्षहरूमा आफ्नो अन्तरिक्ष कार्यक्रममा अर्बाैं डलर खर्च गरेको छ र सन् २०३० सम्ममा चन्द्रमामा चालक दल मिसन उडान गर्ने र अन्ततः चन्द्रमाको सतहमा आधार निर्माण गर्ने लक्ष्य राखेको छ ।

चीनले गएको हप्तामात्रै मानवयुक्त अन्तरिक्ष कार्यक्रमअन्तर्गत ‘शेन्जोउ–२०’ अन्तरिक्षयान प्रक्षेपण गरेको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *