#राजनीति #समाचार #समाज

अन्तर्राष्ट्रिय उडानको माग गर्दै भैरहवा विमानस्थल प्रवेशद्वारमा व्यवसायीको धर्ना

काठमाण्डाै – रुपन्देहीका व्यवसायीहरूले भैरहवाकाे गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार अगाडि भेला भएर प्रदर्शन गरेका छन् । उनीहरूले नियमित अन्तर्राष्ट्रिय उडान हुनुपर्ने मागसहित प्रदर्शन गर्दै एक घण्टा धर्ना दिएका हुन् ।

चेम्बर अफ कमर्स रुपन्देहीको नेतृत्वमा भएको प्रदर्शनमा व्यवसायी सम्बद्ध सङ्घ–संस्थाहरूको सहभागिता रहेको छ । धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल चेम्बर अफ कमर्स रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले आजको धर्ना सङ्केत मात्र भएको र माग सम्बोधन नभए निर्णायक आन्दोलन गर्ने बताउनुभयो ।

विमानस्थल २०७९ साल जेठ २ गते नै उद्घाटन भए पनि अन्तर्राष्ट्रिय उडान नियमित हुन नसक्दा व्यवसायीहरूले पटक–पटक आन्दोलन गर्दै आएका छन् । उनीहरूले प्रधानमन्त्री, विभागीय मन्त्री, प्रमुख दलका नेताहरूलाई ज्ञापनपत्र बुझाउनुका साथै सडक प्रदर्शन गरे पनि अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुन सकेको छैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका लागि आंशिक बन्द भएपछि गएको कात्तिकदेखि जजिरा एअरवेज, फ्लाई दुबई, थाई एअर एशिया र नेपाल एअरलाइन्सले केही समय उडान गरेका थिए । तर त्रिभुवन विमानस्थल मर्मत सकिएपछि भैरहवाबाट पुनः उडान बन्द भएको छ । व्यवसायीहरूले विमानस्थल नचल्दा मर्कामा परेकाहरूलाई क्षतिपूर्ति दिनुपर्नेलगायतका माग राखेका छन् ।

भैरहवा विमानस्थल बनाउन ३५ अर्ब ६६ करोड र जग्गा अधिग्रहणका लागि २३ अर्ब रुपैयाँ खर्च भएको छ । यस्तै अन्तराष्ट्रिय विमानस्थल बन्ने भएपछि त्यस आसपासमा निजी क्षेत्रले झन्डै एक खर्ब रुपैयाँको पर्यटनसम्बन्धी लगानी गरेको र त्यो जोखिममा परेको व्यवसायीहरूको भनाइ छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *