#समाचार #समाज

८ वर्षदेखि नक्कली कागजात बनाउने कारखानामा प्रहरीको छापा, ३ जना पक्राउ

काठमाडौं । किर्ते गरी नक्कली कागजात बनाउने तीन जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीवार पत्रकार सम्मेलन गर्दै उनीहरूलाई सार्वजनिक गरेको हो । काठमाडौंको तारकेश्वर नगरपालिका– ७ फुटुङ्मा विभिन्न सरकारी कार्यालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था र शैक्षिक प्रमाणपत्र लगायतका कागजात किर्ते गरी नक्कली बनाउने गरेको सूचना प्राप्त गरेपछि प्रहरीले छापा मारेको थियो ।

पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका – २ देवी चोक बस्ने ४६ वर्षीया अन्जनी बयलकोटी, ओखलढुङ्गा घर भई काठमाडौंको बुढानीलकण्ठ नगरपालिका – १२ बस्ने २८ वर्षीय निर्मल खड्का र मकवानपुर घर भई चन्द्रागिरी नगरपालिका – १ दह चोक बस्ने २३ वर्षीया अन्जु खत्री रहेका छन् ।

पक्राउ परेकी बयलकोटीले विगत ८ वर्षदेखि सरकारी तथा गैह्रसरकारी कार्यालयका कागजात, स्थानीय तहका सिफारिस पत्र, विभिन्न शैक्षिक संस्थाका प्रमाणपत्रहरू, जग्गाधनी पुर्जा र सवारी चालक अनुमति पत्र लगायतका कागजातहरू किर्ते गरी नक्कली बनाई प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

उनले नक्कली कागजात डिजाइनको लागि दुई जना सहयोगीलाई मासिक दश हजारदेखि १५ हजारसम्म तलब दिएर कार्यकाल सञ्चालन गर्ने गरेको प्रहरीले जनाएको छ ।

उनीहरूले डिपेन्टेन्ड भिसा, विवाह सर्टिफिकेटदेखि बैंकबाट ऋण लिने प्रयोजनार्थ नक्कली जग्गाधनी पुर्जा बनाइ दिने गरेको खुलेको छ । यस्तै, विद्यार्थी भिसामा जापान जानेहरूका लागि सहकारी संस्थाका स्टेटमेन्ट बनाएर कुरियरमार्फत जापान पठाइदिने गरेको पाइएको कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए ।

यस्तै उनीहरूले विभिन्न शैक्षिक संस्था तथा सरकारी कार्यालयका होलोग्रामहरु उपलब्ध गराउने, जापान लगायतका देशहरूमा कामदार भिसामा जानको लागि विभिन्न तहको शैक्षिक प्रमाणपत्र तथा अनुभव समेत पत्र बनाइ दिने गरेको अनुसन्धानबाट खुलेको उनले बताए ।

उनीहरूले विदेशमा बस्ने नेपाली नागरिकहरूले विदेशको पिआर तथा ग्रिन कार्ड आवेदनको लागि नेपालको मनमोहन मेमोरियल अस्पताल, सल्यान जिल्ला अस्पताल, वीर अस्पताल लगायतको नक्कली मेडिकल कार्ड बनाइदिने गरेको पाइएको छ । साथै, भिजिट भिसाको लागि ’क’ वर्गका सबै बैंकको नक्कली बैंक स्टेटमेन्ट समेत बनाइदिने गरेको सूचना अधिकारी आचार्यले जानकारी दिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *