#अर्थतन्त्र #समाचार #समाज #स्थानीय तह

बिर्तामोडमा सहकारीका कार्यकारी प्रमुखमाथि ज्यान मार्ने धम्की

विर्तामोड । पच्चिस लाख रुपैयाँ ऋण लिएर तिर्न आनाकानी गर्दै आएका एक सदस्यले बिर्तामोडमा सहकारीका कार्यकारी प्रमुखलाई नै ज्यान मार्ने धम्की दिएका छन् ।

ऋण र ब्याज बढेर ४४ लाख नाघेपछि ताकेता गर्दा बिर्तामोडस्थित धौलागिरी पारिजात बहुउद्धेश्यीय सहकारी संस्थाका प्रमुख कृष्ण पौडेललाई ऋणी खगेन्द्र क्षेत्रीले फोनबाटै ‘घरमै आएर छप्क्याउने’ भन्दै धम्क्याएका हुन् ।

यो गम्भीर घटनापछि सहकारीले शुक्रबार पत्रकार सम्मेलन गर्दै दोषीमाथि तत्काल कारबाही र आफ्ना कर्मचारीको सुरक्षाको माग गरेको छ । संस्थाका अनुसार, विर्तामोड–१ निवासी क्षेत्रीले २०७७ साल चैत्र २ गते २५ लाख रुपैयाँ ऋण लिएका थिए । तर, लामो समयसम्म साँवा–ब्याज नतिर्दा हाल उनको ऋण ४४ लाख २९ हजार ३४५ रुपैयाँ पुगिसकेको छ ।

ऋण असुलीका लागि संस्थाका ऋण असुली समिति संयोजक भिमबहादुर पौडेल क्षेत्रीको घरमा पुग्दा उनले कत्ती (धारिलो हतियार) देखाएर तर्साएका थिए । त्यसपछि संस्थाले कानुनी प्रक्रिया अगाडि बढाउन पत्राचार ग¥यो, जसबाट आक्रोशित बनेका क्षेत्रीले बिहीबार बिहान कार्यकारी प्रमुख पौडेललाई फोन गरेर ज्यान मार्ने धम्की दिएको संस्थाका अध्यक्ष किशोर भट्टराईले बताए ।

पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको अडियो संवादमा क्षेत्रीले पौडेललाई भनेको सुनिन्छ, “पर्खी तँलाई घर मै आएर छप्क्याउँछु ।” संस्थाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “संस्थागत विषयमा कानुनी बाटो अपनाउँदा कर्मचारीलाई व्यक्तिगत रूपमा धम्क्याउने कार्य निन्दनीय छ । यस्ता घटनाले सहकारी क्षेत्रमा कार्यरत कर्मचारीको मनोबल गिराउँछ र ऋण तिर्नु पर्दैन भन्ने अराजक मानसिकतालाई बढावा दिन्छ ।”

सहकारीले क्षेत्रीलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्न र कर्मचारीको सुरक्षा सुनिश्चित गर्न प्रशासनसमक्ष जोडदार माग गरेको छ । अध्यक्ष भट्टराईले सदस्यहरुको बचतलाई नै अन्य सदस्यलाई ऋण दिइने भएकाले समयमा ऋण असुली नहुँदा सिंगो संस्था नै जोखिममा पर्ने बताए ।

यसैबीच, कोअपरेटिभ मेनेजर्स क्लब झापाका सदस्य पर्वत चिमरियाले कर्मचारीमाथि हुने यस्ता आक्रमण सह्य नहुने भन्दै प्रशासनले घटनालाई गम्भीरतापूर्वक लिएर तत्काल अनुसन्धान गर्नुपर्नेमा जोड दिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *