बिर्तामोड नगरपालिका वडा नम्बर २ र ३ मा पर्ने सूर्यनगरबाट गोकुल जोशी मार्ग जोड्ने सडकमा कालोपत्रे सम्पन्न

बिर्तामोड, १ असार : बिर्तामोड नगरपालिका वडा नम्बर २ र ३ मा पर्ने सूर्यनगरबाट गोकुल जोशी मार्ग जोड्ने सडकमा कालोपत्रे सम्पन्न भएको छ ।
५ सय ४९ मिटर सडक क्षेत्रमा कालोपत्रे सम्पन्न भएको हो । यसको चौडाई ९ मिटर छ । सघन शहरी तथा भवन निर्माण आयोजना भद्रपुरको भ्याट बाहेक ६० लाख ५७ हजार रुपैयाँमा उक्त सडक कालोपत्रे गरिएको हो । माइ नगरपालिका ३ इलामको आचार्य कन्स्ट्रक्सनले निर्माणको ठेक्का पाएको थियो ।
विभिन्न दुई वटा ठेक्का मार्फत उक्त सडक निर्माण गरिएको हो । यस अघि उक्त सडकमा स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय ईटहरीको भ्याट बाहेक ५८ लाख ६९ हजार ५३० रुपैयाँमा प्लम तथा सव बेसको काम भएको थियो ।
ओजस इन्जिनियरिङ सोलुसन प्रा.लिले बैशाख ३० गते अघि काम सम्पन्न गरेको थियो ।
चालु आर्थिक वर्षमा बिर्तामोड नगरपालिका भित्र भौतिक तथा पूर्वाधारका क्षेत्रमा साना ठुला दर्जनौ योजनाहरु सञ्चालनमा छन् ।