झापाको बुद्धशान्ति ४ का १९५ जना भूमिहीनले पाए जग्गा धनीपुर्जा

झापा- झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ का १९५ जना भूमिहीनहरूलाई जग्गा धनीपुर्जा वितरण गरिएको छ।
सोमबार वडा कार्यालय नजिक आयोजित विशेष कार्यक्रममा उनीहरूलाई जग्गा धनीपुर्जा वितरण गरिएको हो। नेपाली काँग्रेसका महामन्त्री तथा झापा नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले धनीपुर्जा वितरणको सुरुवात गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रस महान्त्री शर्माले देशमा केही नभएको होइन, धेरै कुरा भइरहेको बताए।
शर्माले महंगो कर लगाएर धनीपुर्जा वितरण गर्ने काम विगतमा आफूले रोकेको बताए। कार्यक्रममा बोल्दै आफूलगायतले गरेको आग्रहलाई सरकारले उक्त राजस्व आधा घटाएको उनले बताए।
गाउँमा बाटा बनिरहेका, अस्पताल निर्माण भएका, खानेपानीका आयोजना बनिरहेका, विद्युत विस्तारलगायतका काम भइरहेका भए पनि देश चाहिँ नबन्ने भो भन्ने मानसिकता त्याग्न उनले आग्रह गरे।
सोमबार धनीपुर्जा पाउनेहरूमा अधिकांश ८० बर्षको उमेर नाघेका छन्। उनीहरू बुढेसकालमा भए पनि जग्गा धनीपुर्जा दिएकोमा खुशी व्यक्त गरेका छन्।
तर माग अनुसारको धनीपुर्जा दिलाउन गाउँपालिका कार्यालयले अझ धेरै काम गर्न बाँकी रहेको गाउँपालिका अध्यक्ष मनोज प्रसाईंले बताए। उनले पालिकाका भूमिहीनहरूलाई धनीपुर्जा वितरण गर्न पाएकोमा खुशी व्यक्त गरे।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद खतिवडाले धनीपुर्जा दिएर मात्र दायित्व पूरा नहुने भन्दै त्यस्को प्रयोगको कार्यान्वयन अझ सरल बनाइदिन आग्रह गरे।
गत शनिवार कनकाई नगरपालिकाका १५७ जनालाई प्रधानमन्त्री केपी शर्मा ओलीले जग्गा धनीपुर्जा वितरण गरेका थिए।