ग्लोबल आईएमई लगातार दोस्रो पटक ‘बेस्ट बैंक अवार्ड’ बाट सम्मानित

काठमाण्डाै – ग्लोबल आईएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेस्ट बैंक अवार्ड २०२५ बाट सम्मानित भएको छ । ग्लोबल आईएमई बैंक लगातार दाेस्राे पटक याे अवार्डबाट सम्मानित भएको हो ।
विश्वसनीयता, वित्तीय स्राेत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरूको विकास, क्रेडिट रेटिङ्ग लगायतका मापदण्डहरूमा ग्लोबल आईएमई सन् २०२५ का लागि नेपालको उत्कृष्ट बैंक भएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यस सम्मानले बैंकलाई थप उत्कृष्ट सेवा प्रदान गर्न प्रोत्साहित गरेको बताउँदै यस सम्मानका लागि विभिन्न पक्षबाट सहयोग गर्ने नेपाल सरकार, नेपाल राष्ट्र बैंकलगायत अन्य नियामक निकाय, शेयरधनी, कर्मचारी तथा ग्राहकवर्गहरूमा खुशी साट्दै हार्दिक आभार व्यक्त गर्नुभयो ।
ग्लोबल फाइनान्स म्यागाजिनले ग्लोबल आईएमई बैंकसहित अफ्रिका, एशिया प्यासिफिक, क्यारेबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्य पूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकहरूलाई सम्मान गरेको हो ।
ग्लोबल आईएमई ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक हो । ग्लोबल फाइनान्सले विश्वका उत्कृष्ट केन्द्रीय बैंक र वाणिज्य बैंकहरूलाई यो अवार्ड प्रदान गर्ने गर्दछ ।
ग्लोबल फाइनान्सले २०२५ का लागि हङकङको एचएसबीसी, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्शन बैंक, नेपालको ग्लोबल आईएमई बैंक, मलेशियाको यूओबी मलेशिया, बङ्लादेशको सिटी बैंक, जापानको एसएमबीसी लगायतका विश्वभरका बैंकहरूलाई विभिन्न विधामा सम्मानित गरेको हो ।
ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गरी समय सान्दर्भिक नवीनतम सेवाहरू प्रदान गर्दै आइरहेका बेला नेपालको उत्कृष्ट बैंकको सम्मानले आउँदा दिनमा रचनात्मक सेवाहरू प्रदान गर्न प्रोत्साहित गर्ने बैंकले जनाएकाे छ ।
यसअघि पनि ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट सम्मानित भएको छ । बैंकले अहिलेसम्म यस अवार्डसहित बैंक अफ द इअर २०१४, बेस्ट इन्टरनेट बैंक २०१६, बेस्ट बैंक नेपाल २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४, बेस्ट इम्प्लोयर जस्ता अवार्डहरू प्राप्त गरिसकेको छ ।
ग्लोबल आईएमई बैंक देशको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५२ शाखा कार्यालय, ३८५ एटीएम, १५५ शाखारहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्शन तथा राजस्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजारभन्दा बढी सेवा केन्द्र छन् ।
बैंकले विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।