चट्याङ लागेर सङ्खुवासभामा १७ वटा भैँसी मरे

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–३ का लोपातलमा चट्याङ लागेर १७ वटा भैँसी मरेका छन् । वर्षासँगै परेको चट्याङ लागेर मकालु–३ काे कालोपातलमा चराउन जङ्गल लगिएका भैँसी मरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिनुभयाे ।
चट्याङ लागेर मकालु–३ का पुष्पलाल भण्डारी र प्रेमप्रसाद भण्डारीका गरी १७ वटा भैँसी मरेका प्रहरी निरीक्षक लामिछानेले बताउनुभयो । चट्याङ लागेर भैँसी मर्दा १० लाख रुपैयाँभन्दा धेरैको क्षति भएको छ ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय हेदाङ्नागढीको टोली आज घटनास्थलतर्फ लागेको छ । घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङ्नागढीबाट ३५ किलोमिटर दूरीमा पर्दछ ।